भारी बर्षाका कारण स्वास्थ्य व्यवसायी परिषद्को लाइसेन्स परीक्षा सर्‍यो


काठमाडौं ।

नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले आगामी शुक्रबारदेखि आइतबारसम्म (९, १० र ११ असोज) सञ्चालन गर्ने भनिएको उन्नाइसौँ नाम दर्ता (लाइसेन्स) परीक्षा स्थगित गरेको छ । परिषद्ले बिहीबार सूचना जारी गर्दै स्थगित परीक्षा आगामी १९ देखि २१ असोजसम्म सञ्चालन गर्ने जनाएको छ । आकस्मिक रूपमा बदलिएको मौसमका कारण ९ देखि ११ असोजसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमानपछि सरकारले उच्च सतर्कता अपनाउन आग्रह गरेकाले परीक्षा सारिएको परिषद्ले जनाएको छ ।

यसअघि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अति भारी वर्षाको पूर्वानुमान गरिएको ९ देखि ११ असोजसम्म कुनै पनि परीक्षा सञ्चालन नगर्न आग्रह गरेको थियो । त्यस्तै, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले उक्त अवधिमा स्वास्थ्यकर्मीलाई उच्च सतर्कतामा रहन निर्देशन दिएको छ । परिषद्को परीक्षा समितिले नयाँ विकसित परिस्थितिका कारण पूर्वनिर्धारित मितिमा सञ्चालन हुने भनिएको परीक्षा स्थगित गरिएको जनाएको छ । परिषद्ले नयाँ मितिमा सञ्चालन हुने परीक्षाको विस्तृत तालिका पुनः प्रकाशन गर्ने जनाएको छ ।