स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा. पौडेल


काठमाडौं ।

स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा वरिष्ठ बालरोग विशेषज्ञ डा. कृष्णप्रसाद पौडेल नियुक्त हुनुभएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले गत शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै डा. पौडेललाई विभागको निमित्त महानिर्देशकको जिम्मेवारी दिनुभएको हो । डा. पौडेल यसअघि सप्तरीको राजविराजस्थित गजेन्द्रनारायणसिंह अस्पतालमा कार्यरत हुनुहुन्थ्यो ।

उहाँले सोमबार नियुक्तिपत्र बुझ्नुभएको र मंगलबारदेखि विभागको नयाँ जिम्मेवारी सम्हाल्ने तयारी गर्नुभएको छ । डा. पौडेललाई निमित्त महानिर्देशकको जिम्मेवारी दिएसँगै यसअघि निमित्त महानिर्देशकका रूपमा कार्यरत डा. अनुज भट्टचन पूर्ववत् रूपमा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशकको जिम्मेवारीमा फर्कनुभएको छ । स्वास्थ्य सेवा विभागको महानिर्देशक पद १२औँ तहको हो ।

प्रधानमन्त्री कार्यालयमा डा. संगिता मिश्रा तानिएपछि स्वास्थ्य मन्त्रालयमा १२औँ तहका डा. श्रीकृष्ण श्रेष्ठ मात्र कार्यरत हुनुहुन्छ । डा. श्रेष्ठले विभागको नेतृत्व गर्न इच्छा व्यक्त गर्नुभएको भए पनि मन्त्रालयमै एक जना १२औँ तहका चिकित्सक आवश्यक रहेको भन्दै उहाँलाई विभागमा नपठाइएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।

‘उहाँले विभागमा जान इच्छा देखाउनुभएको पनि हो । तर मन्त्रालयमा पनि एक जना चाहियो भन्ने भयो । त्यसैले उहाँलाई उता पठाइएन,’ स्रोतले भन्यो । डा. पौडेलले मंगलबारदेखि विभागको निमित्त महानिर्देशकका रूपमा औपचारिक रूपमा जिम्मेवारी सम्हाल्ने तयारी गर्नुभएको छ ।