काठमाडौं।
पाठेघरको मुखको क्यान्सर रोकथामका लागि जुम्लामा १ हजार २९२ छात्रालाई लक्षित गरी एचपिभी खोप अभियान सञ्चालन हुने भएको छ ।
जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका जनस्वास्थ्य निरीक्षक प्रेमबहादुर सोमैका अनुसार जिल्लाभर सोमबार र मंगलबार एचपिभी खोप कार्यक्रम सञ्चालन हुनेछ । खोपका लागि जिल्लाका ८४ वटा विद्यालयमा केन्द्र तोकिएको छ ।
विद्यालयमा अध्ययनरत कक्षा ६ का छात्रालाई एचपिभी खोप दिइनेछ । जिल्लाका आठवटै स्थानीय तहमा अभियान सञ्चालन हुने कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार चन्दननाथ नगरपालिकामा २४९, तातोपानी गाउँपालिकामा १८९, गुठीचौर गाउँपालिकामा ११५ र पातारासी गाउँपालिकामा १९६ छात्रालाई खोप दिइनेछ ।
त्यस्तै, तिला गाउँपालिकामा १४७, हिमामा १२०, सिञ्जामा ११८ र कनकासुन्दरी गाउँपालिकामा १२३ छात्रालाई एचपिभी खोप लगाइनेछ ।
जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख किरणकुमार शर्माले खोप कार्यक्रमका लागि आवश्यक तयारी पूरा भएको जानकारी दिए । उनका अनुसार लक्षित सबै छात्रालाई खोपको पहुँचमा ल्याउने गरी विद्यालय तथा स्थानीय तहसँग समन्वय गरिएको छ ।











प्रतिक्रिया