विश्व शान्ति दिवस सेप्टेम्बर २१ : खोइ त शान्ति ?

282
Shares

विश्व शान्ति दिवस मनाइरहँदा न हाम्रो देशमा शान्ति छ, न अन्यत्र । हामीले त मानवोचित धर्म निर्वाह गर्ने वेदलाई नै भुलिसकेका छौँ, हाम्रो शान्तिको नारा खोक्रो भइरहेको छ, र त शासन परिवर्तनका नाममा कहिले देश जलाउने, कहिले जनता जलाउने त कहिले पूर्वाधारहरु जलाउने कर्म गर्दै छौँ । सेप्टेम्बर २१ हिजो पनि आयो र आजभोलि पनि आउँदै छ, विश्वको शान्ति चाहना भने गोहीको आँसुजस्तै भएको छ । युक्रेन–रसिया युद्ध नटुंगिँदै हमास, इजरायल र यहीँ पनि संविधानका नाममा वा सत्ता परिवर्तनका नाममा घमासान चलेकै छ । अब त होला शान्ति भनेको, भएको छैन । पछिल्ला दिनहरुले मनमा अशान्ति थपेको छ, रसुवाको बाढी वितण्डाले भत्किएको मनमा मलहम लगाउनेको कमी भइरहेको छ, संविधान दिवस असौज ३ मा जसरी रौनक देखिएन, तीज विशेषमा पनि कुनै रौनक छैन । शान्ति स्थापनार्थ तय भएको दोस्रो महायुद्धपछिको संयुक्त राष्ट संघ आपैmँ थला परेको महसुस गर्दै छ । ठूलाले जे गरेका छन्, त्यसैमा ताली बजाउँदै छ । महायुद्ध मात्रै होइन, संसारमै जलवायुको संकट समाधानको उपाय निकाल्न सकेको छैन ।

देशभित्रको रडाको उस्तै छ । सत्ता परिवर्तन भयो, नेतृत्व पनि परिवर्तन भयो तर संस्कार परिवर्तन भएन । जनआक्रोश चुलिँदै छ । भान्छामा ग्यास छैन, हिँड्ने बाटो छैन, खाने खाद्यान्न छैन, आय आर्र्जन गर्ने रोजगारी छैन, पर्याप्त सामान बजारमा छैनन्, किनेर खान्छु भन्दा बस्तु पाइन्न । त्यस्तै शिक्षा र स्वास्थ्यमा सरकारले बोलेको कुरो लागू भएको छैन । संविधानले सबै कुरो दिन्छ भनियो, झुट बोलियो, यसले केही पनि दिएन, दिइएका मौलिक हक नै पूरा गर्न सकेन ।

विकास र समृद्धिको पहिलो सर्त शान्ति र सुव्यवस्था नै सञ्चालित भएन । सुसंस्कार र सुशासनका नारा बेकार भए, भ्रष्टाचार मौलायो र यत्रतत्र असन्तोषको बाढी आइरहेको छ । बेरुजु बढ्यो, बिचौलिया बढे, कर बढ्यो, वस्तुको आयात घटेन । सुशासन दिने प्रशासन संयन्त्र आपैmँ कोमामा गयो । स्थायी सरकार सञ्चालन गर्ने निजामती सेवा ऐन आएन । विश्वका अशान्तिका हर घटनाले आम नेपाली त्रस्त रहे । दुई छिमेकीले उद्योग र लगानी विस्तार, जनसंख्याको लाभ, तिनले औद्योगिकीकरणमा देखाएको अभूतपूर्व विकासको प्रभाव भने यहाँ परेन । मानवीय विकासको बाटोमा हामीभन्दा पछि जन्मने राष्टृहरुले विकासको चरम चुली चुम्दै गर्दा हामीलाई खाना, नाना, छानाको समस्याले सताइरहेको छ । एकदिन पानी प¥यो भने भोलिपल्ट तमाम संरचनाहरु ध्वस्त हुने गरेका छन् । बाटोघाटो जलाशयमा परिणत हुने गरेका छन् । अनायासै देखा परेको रसुवागढीको विपत्तिले देश र देशवासीको सातो लगेको छ । मनमा शान्ति र तनमा कान्ति भेटिएको छैन । चाडपर्वहरुले रौनकता दिन सकेका छैनन् । मन उजाड छ । मुटुमा ढुंगा राखी शान्तिको बत्ती बाल्ने प्रयत्न गरिएको छ । शान्तिको पूर्वसर्त खाना, नाना र छानाको सुनिश्चितता, रोजगारी र पर्याप्त आयआर्जन हो । तर ग्यासकै अभाव छ अहिले, भान्छामा आँसुको इन्धन जलाएर भोको बस्नुपरेको छ । यसैमा बिचौलियाहरुले मूल्य धेरै लिइरहेका छन् । थाहा होला भनेर सचेत नागरिकलाई त त्यो पनि दिन मानेका छैनन् ।

उपभोक्ता हकहित र त्यसमा वकालत गर्ने संविधान र अदालतहरु नै बेसहारा बनेका छन् । एक अभिभावकको आम्दानीले घरखर्च त के, एक बच्चाको स्कूल तिरोभरो नै पुग्दैन । स्कूलमा विद्या होइन, बस्तु बिक्री भइराखेको छ । यता देशमा जनसंख्या वृद्धि माइनसतिर जान लागेको छ । अर्बौं रकम खर्चिए पनि साक्षरता प्रतिशत बढेको छैन । शिक्षा दिवस नै मनाउन नसकिने कहाली लाग्दो अवस्था देशमा विद्यमान छ । बँंकहरुमा व्याज छैन, लगानी छैन, भएको लगानी डुबेको छ । सहकारी समस्या घटेको छैन । उखर्माउलो नारा लिएर आएको परिवर्तित सरकारको जनविश्वासमा तुषारो छाएको छ । जुन जोगी आए पनि कान चिरिएका भनेजस्तो भएको छ । शिक्षा र स्वास्थ्यमा कर लगाउने सरकारले बिमा सुविधा कटौती गरेको छ । वृद्ध भत्ता अनलाइन नवीकरण भनियो, दुई महिना व्यतीत भयो, सप्mटवेयरले काम गरेको छैन । बेसहारा वृद्धहरुको भत्ता नवीकरण हुन सकेको छैन । रासायनिक मल कारखाना खोल्ने भनियो, चिनीको समस्या, दूधको भुक्तानी, कृषि बिमाको समस्या नसल्टिाँदै रसुवामा बाढी पसेकोले देश थप आक्रान्त बनेको छ । रास्वपा सरकारको परीक्षा हुँदै छ । अर्का राजनीतिक पक्षले खोइरो खन्न थालेका छन् । आम जनमानसमा पनि कुनै उत्साह छैन ।

शान्तिको पहिलो सर्त समृद्धि हो । यहाँ समृद्धि त कता हो, बरु बढी तिरेर भए पनि एक सिलिन्डर ग्यास कसरी लिने, शुद्ध खानेपानी कसरी पाउने, स्कूलमा तिर्नुपर्ने मासिक बिल कसरी कम गर्ने, चाडपर्वमा भन्दा पनि दैनिक खाद्यान्नको कसरी जोहो गर्ने ? यावत् कुराको त्रासले शान्तिको चाहना केवल नारा मात्रै भएको छ ।

शान्तिको पहिलो सर्त समृद्धि हो । यहाँ समृद्धि त कता हो, बरु बढी तिरेर भए पनि एक सिलिन्डर ग्यास कसरी लिने, शुद्ध खानेपानी कसरी पाउने, स्कूलमा तिर्नुपर्ने मासिक बिल कसरी कम गर्ने, चाडपर्वमा भन्दा पनि दैनिक खाद्यान्नको कसरी जोहो गर्ने ? यावत् कुराको त्रासले शान्तिको चाहना केवल नारा मात्रै भएको छ । खर्र्बौं रकम खर्चिएर बनेको संविधानले शान्ति दिन सकेको छैन, देओस् पनि कसरी ? जुुन गर्भबाट यो जन्मियो, त्यसको गर्भ नै अशान्तिको थियो । बीउ रोप्दा नै होसियारी नगर्ने हामीलाई आपैmँले धिक्कार भन्नुबाहेक के छ समाधान ? जलेका संरचना तयारीका लागि तिर्नुपर्ने कर पनि त हामीले नै बुझाउनुपर्ने हो कि अनेक थरीका नाममा । जनताभन्दा बढी सरकार छन् यहाँ । तिनको हुर्काइ, बढाइ, लालनपालन गर्नै परेको छ । जनताले ओखतीमूलो गर्न नसके पनि राज्यको ढुकुटी यिनै नेताहरुलाई बुझाउनै परेको छ । हिजो पञ्चहरुले कुनै सुविधा लिएनन् ।

अहिलेका राजा, नवराजाहरुले कति थरी सुविधा भोगिरहेका छन् । प्राडो, पजेरो, आवास, इन्धन, भान्छेदेखि राणाकालका शासकभैmँ सुविधा असुलिरहेका छन् । मरणोपरान्त संस्था खोलेर त्यसको सावाँब्याज असुलिरहेका छन् । सुशासन दिएर भ्रष्टहरुलाई ठेगान लाउने भन्दै चिच्याउँदै आएको सरकार पुच्छर लुकाएर बसिरहेको छ । सबैले आप्mनो फणा उठाइरहेका छन् र मौका मिल्नासाथ रास्वपालाई पाखा लाउन उद्यत् छन् । रास्वपा सरकारको कामले पनि दिनानुदिन जनताको मनोबल गिर्दै छ । बिजुलीको भ्याटदेखि अरु सबै कामहरुबाट वाकदिक भएका छन् उपभोक्ताहरु । प्रशासनयन्त्र छिन्नभिन्न भएको छ, समन्वयको अभाव छ । ईष्र्या बढेको छ, कर्मचारी खटनपटनमै सरकालाई टाउको दुखेको छ । मन्त्रालयहरु घटे पनि स्वकीय सचिवदेखि सल्लाहकारहरुको भीड बढेको छ । जताततै कुण्ठा र बेचैनीका बीच नेपालीहरु बाँच्न बाध्य भएका छन् ।

‘नीतिले कमाऊ, रीतिले बाँच र प्रीतिले बाँच्न देऊ’, यो पूर्वीय दर्शनको मूल मान्यता हो । नेपाल पूृर्वीय धर्मशास्त्रको जननी देश हो– शिव, जनक र बुद्धको देश । संसारलाई सदाचार, नीति, दर्शन, योग र ध्यान सिकाउने देश पनि । नेतृत्वलगायत समाजमा हुनुपर्ने प्रमुख गुण भनेकै नीति, नैतिकता, सदाचार र इमानदारिता हो । यसैबाट सामाजिक, आर्थिक, राजनीतिक जीवन शुद्ध हुन्छ । असल समाज निर्माणमा सबै व्यक्ति, समूह, समाज सदाचारी हुनुपर्ने हो तर भएको छैन, र त अशान्ति छ यत्रतत्र । आज सन्त्रासै सन्त्रास छ– ध्वनि र वायु प्रदूषणले पनि । अन्तष्करणमा पाइने खुशी बजारमा हाँसिरहेछ । संसारमा महान् अध्येता महापुरुषहरु विज्ञानबाट थाकेर आध्यात्मिक खोजतर्फ अग्रसर हुन थालेका छन् र भन्छन्– अन्तष्करणमा खुशी छ, शान्ति आफैँभित्र छ, मृगतृष्णाले बाहिर भौँतारिएर हुन्न । तर असल संस्कार आज हराइरहेको छ । विकासको नाममा विनाश हुन थालेको छ । जीवनको सारतत्व मान्छेले बिर्सियो । केवल धन, पद, प्रतिष्ठामा लहसियो । सेवाको नाममा व्यापार भयो, आजको समाजले हरेक विषयमा व्यापारलाई बहादुरी सम्झेको छ । बलको तुजुक, चरम लापरबाही, ओठेभक्ति, जताततै सन्नाटा, आजको राज्य नेतृत्वले लिएको सुशासन र विश्व शान्ति गोहीको आँसुजस्तो छ । हामीले विश्वास गरेका संवाहकहरुबाट हामीलाई प्राप्त उपहार यही हो । गाउँ–बस्तीमा डोजर दौडाएर, भए÷नभएको पैसा रोपेर बाढी–पहिरोको समस्या थपिएको छ । डाँडा, पखेरीहरुमा डोजरहरु गुडे, गाउँका मान्छे खाडी भास्सिए । अन्नपातमा कमी भयो, प्रकृति दोहन अति भयो, प्रकृतिले उल्टो झापड हान्न थाल्यो र हामी रोइरहेका छौँ । यो रुने क्रम रसुवा बाढीमा मात्रै सीमित नहोला, अर्को उन्मादको तयारीमा पनि बस्नुपर्छ होला । अब हामीलाई शान्ति कहिले हुने ?