काठमाडौं ।
उत्तरी सिरियाको एलेप्पो प्रान्तस्थित अल–ऐस क्षेत्रमा सोमबार बिहान एकपछि अर्को गर्दै धेरै विस्फोट भएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार विस्फोट हतियार भण्डारण गरिएको क्षेत्रमा भएको हो ।
सिरियाली सरकारी टेलिभिजन अल–इखबारियासहित विभिन्न सञ्चारमाध्यमले अल–ऐस क्षेत्रमा विस्फोट भएको रिपोर्ट गरेका छन् । घटनापछि उक्त क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको र घटनाको विस्तृत विवरण संकलन भइरहेको जनाइएको छ ।
बीबीसी फारसीले स्थानीय स्रोतलाई उद्धृत गर्दै सिरियाली रक्षा मन्त्रालयसँग सम्बन्धित हतियार डिपोमा विस्फोट भएको जनाएको छ । यद्यपि, विस्फोटको कारण र त्यसबाट भएको क्षतिबारे अहिलेसम्म पूर्ण विवरण सार्वजनिक भएको छैन ।
घटनामा मानवीय क्षति भएको वा नभएको विषयमा पनि आधिकारिक पुष्टि भइसकेको छैन । अहिलेसम्म कुनै व्यक्ति मृत्यु भएको वा घाइते भएको आधिकारिक विवरण सार्वजनिक नभएको स्थानीय स्रोतलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरूले जनाएका छन् ।
यसैबीच, केही स्थानीय स्रोत तथा सञ्चारमाध्यमले विस्फोट इजरायली हवाई आक्रमणका कारण भएको हुन सक्ने आशंका गरेका छन् । तर उक्त दाबीको स्वतन्त्र रूपमा पुष्टि हुन बाँकी रहेको बीबीसीले जनाएको छ ।
रिपोर्टअनुसार विस्फोट भएको भनिएको हतियार डिपो टर्कीको समर्थन प्राप्त समूहका लागि हतियार भण्डारण गर्न प्रयोग हुँदै आएको थियो । यद्यपि, डिपोमा रहेका हतियार र विस्फोटको वास्तविक कारणबारे सम्बन्धित पक्षबाट विस्तृत आधिकारिक जानकारी सार्वजनिक भएको छैन ।
घटनाबारे थप विवरण बाहिर आउन बाँकी छ ।











प्रतिक्रिया