काठमाडौं ।
सिप्रदी यात्रीले नेपालमै इन्जिनियरिङ तथा उत्पादन गरिएको नयाँ इलेक्ट्रिक स्कुटर ‘यात्री P2’ को मूल्य सार्वजनिक गरेको छ। कम्पनीका अनुसार P2 को सुरुवाती मूल्य ३ लाख २९ हजार ९ सय रुपैयाँ तोकिएको छ।
नेपालका विविध सडक तथा भौगोलिक अवस्थालाई ध्यानमा राखेर विकास गरिएको P2 शहरी आवतजावतमा मात्र सीमित नरहेको कम्पनीको दाबी छ। उकालो बाटो, घुम्ती सडक, दैनिक शहरको ट्राफिकदेखि लामो दूरीको यात्रासम्मलाई ध्यानमा राखेर स्कुटरमा कार्यक्षमता, रेन्ज, चार्जिङ, कनेक्टिभिटी र राइडर केन्द्रित प्रविधि समेटिएको छ।
तीन ब्याट्री विकल्प
P2 मा ग्राहकको आवश्यकता अनुसार तीनवटा ब्याट्री विकल्प उपलब्ध छन्। ३.० किलोवाट–घण्टा ब्याट्रीले वास्तविक शहरी अवस्थामा ९० किलोमिटरसम्म, ३.७ किलोवाट–घण्टा ब्याट्रीले ११२ किलोमिटरसम्म र ५.२ किलोवाट–घण्टा ब्याट्रीले १५७ किलोमिटरसम्म रेन्ज दिने कम्पनीले जनाएको छ।
थप रेन्ज आवश्यक पर्ने प्रयोगकर्ताका लागि एक्स्टेन्डर प्याकमार्फत थप ५० किलोमिटरसम्म रेन्ज प्राप्त गर्न सकिनेछ। P2 को ब्याट्रीमा ८ वर्ष वा ८० हजार किलोमिटरसम्मको वारेन्टी उपलब्ध हुने कम्पनीको भनाइ छ।
नेपालका सडकलाई ध्यानमा राखेर इन्जिनियरिङ
P2 मा PMSM मिड–ड्राइभ मोटर प्रयोग गरिएको छ। कम्पनीका अनुसार यसले पांग्रामा ३१५ एनएम टर्क उत्पादन गर्छ। एक्टिभ्ली कुल्ड हाई–पावर कन्ट्रोलरले विशेषगरी उकालो सडकमा निरन्तर कार्यक्षमता कायम राख्न सहयोग गर्ने बताइएको छ।
स्कुटरमा उच्च मजबुतीको स्टिल च्यासिस, लामो ट्राभल सस्पेन्सन र १४ इन्चका पाङ्ग्रा प्रयोग गरिएको छ। डुअल डिस्क ब्रेकसँगै कम्बाइन्ड ब्रेकिङ सिस्टम पनि उपलब्ध छ।
२.५ घण्टाभन्दा कम समयमा चार्ज
P2 मा इन्स्टल्ड अनबोर्ड चार्जर राखिएको छ। यसका कारण घरमा चार्ज गर्दा छुट्टै चार्जिङ एडाप्टर बोक्नुपर्ने आवश्यकता नपर्ने कम्पनीले जनाएको छ।
ब्याट्रीको कन्फिगरेसनअनुसार घरमै २.५ घण्टाभन्दा कम समयमा चार्ज गर्न सकिनेछ। लामो यात्रा वा छिटो चार्ज गर्नुपर्ने अवस्थामा P2 ले DC फास्ट चार्जिङसमेत सपोर्ट गर्ने र तोकिएको चार्जिङ अवस्थाअनुसार करिब ४१ मिनेटमा चार्ज गर्न सकिने कम्पनीको दाबी छ।
शहरबाहिर यात्रा गर्ने प्रयोगकर्तालाई लक्षित गर्दै सिप्रदी यात्रीले देशभर आफ्नो चार्जिङ नेटवर्क विस्तार गरिरहेको जनाएको छ।
स्मार्ट कनेक्टिभिटीसहितको राइडिङ अनुभव
P2 मा ७ इन्चको TFT डिस्प्ले उपलब्ध छ। यसमा वायरलेस Apple CarPlay र Android Auto को सुविधा समावेश गरिएको छ। डिस्प्लेमार्फत नेभिगेसन तथा आवश्यक राइडिङसम्बन्धी जानकारी हेर्न सकिन्छ।
स्कुटरमा जडान गरिएको सेन्सरले कम्पासको दिशा, रोल र पिचलगायतका जानकारी रियल–टाइममा उपलब्ध गराउने कम्पनीले जनाएको छ।
कनेक्टेड आर्किटेक्चरमार्फत P2 यात्रीको नेटवर्कसँग जोडिइरहनेछ। मोबाइल एपमार्फत लाइभ भेहिकल ट्र्याकिङ, रियल–टाइम चार्जिङ जानकारी, रुट प्लानिङ तथा सर्भिस अपोइन्टमेन्टलगायतका सुविधा प्रयोग गर्न सकिनेछ।
त्यस्तै, प्रोक्सिमिटी डिटेक्सन प्रविधिमार्फत चाबीबिना स्कुटर सञ्चालन गर्न सकिने सुविधा पनि उपलब्ध छ।
राइडिङलाई सहज बनाउने विभिन्न फिचर
P2 मा विभिन्न सडक तथा राइडिङ अवस्थाअनुसार प्रयोग गर्न मिल्ने मल्टिपल राइडिङ मोड, स्मार्ट चार्जिङ मोड र मल्टिपल–लेभल रिजेनेरेटिभ ब्रेकिङ उपलब्ध छन्।
शहरको ट्राफिकमा बारम्बार रोकिनुपर्ने अवस्था तथा लामो यात्राका क्रममा हिल होल्ड र क्रुज कन्ट्रोलजस्ता सुविधाले राइडिङलाई सहज बनाउने कम्पनीको भनाइ छ।
रिजेनेरेटिभ ब्रेकिङमार्फत गति घटाउँदा स्कुटरको केही गतिज ऊर्जालाई पुनः विद्युतीय ऊर्जामा रूपान्तरण गरी ब्याट्रीमा भण्डारण गर्न सहयोग पुग्नेछ।
सुरक्षामा पनि ध्यान
P2 मा Class-D हेडलाम्प प्रयोग गरिएको छ। त्यस्तै, रिजेन–रिस्पोन्सिभ टेललाइटले स्कुटरको गति घट्दा पछाडिबाट आइरहेका सवारीलाई संकेत दिने कम्पनीले जनाएको छ।
कनेक्टेड प्लेटफर्ममार्फत एन्टी–थेफ्ट नोटिफिकेसन र मोटर लकजस्ता सुविधा पनि उपलब्ध छन्।
आफूअनुकूल कन्फिगरेसन छनोट गर्न सकिने
ग्राहकले अनलाइन कन्फिगुरेटरमार्फत P2 को रङ, ब्याट्री क्षमता, कम्फर्ट र कनेक्टिभिटीका विभिन्न विकल्प छनोट गर्न सक्नेछन्। कन्फिगुरेटरमार्फत आफूलाई आवश्यक कन्फिगरेसन तयार गरी अर्डर गर्नुअघि विभिन्न विकल्प हेर्न सकिने कम्पनीले जनाएको छ।
अक्टोबरदेखि एक्सपेरियन्स सेन्टर सञ्चालनमा
काठमाडौंको टेकुमा रहेको सिप्रदी यात्रीको नयाँ एक्सपेरियन्स सेन्टर अक्टोबर २०२६ को पहिलो सातादेखि सञ्चालनमा आउने तयारीमा छ। यहाँ ग्राहकले P2 को प्रत्यक्ष अनुभव लिन, टेस्ट राइड गर्न तथा बुकिङ गर्न सक्नेछन्।
NADA Auto Show का क्रममा P2 बुकिङ गरेका ग्राहकलाई डेलिभरी सुरु भएसँगै स्कुटर उपलब्ध गराइने कम्पनीले जनाएको छ।











प्रतिक्रिया