मुक्तिनाथ विकास बैंकको विशेष घर कर्जा योजना सार्वजनिक


काठमाडौं।

मुक्तिनाथ विकास बैंकले नेपालीहरूको प्रमुख चाड दशैं, तिहार तथा छठलाई लक्षित गर्दै ग्राहकका लागि विशेष घर कर्जा योजना सार्वजनिक गरेको छ।

बैंकका अनुसार योजनाअन्तर्गत ग्राहकले Base Rate + 0.25 प्रतिशत को विशेष ब्याजदरमा घर निर्माण, घर खरिद तथा आवाससम्बन्धी आवश्यकताका लागि कर्जा प्राप्त गर्न सक्नेछन्। घरजग्गाको मूल्याङ्कनको अधिकतम ७० प्रतिशतसम्म कर्जा उपलब्ध हुने बैंकले जनाएको छ। पहिलो घर कर्जाको हकमा भने अधिकतम ८० प्रतिशतसम्म कर्जा सुविधा प्राप्त गर्न सकिनेछ।

चाडपर्वको अवसरमा आफ्नै घर बनाउने वा खरिद गर्ने योजना बनाइरहेका ग्राहकलाई लक्षित गरी योजना ल्याइएको बैंकले जनाएको छ। बैंकका अनुसार प्रतिस्पर्धी ब्याजदरमा कर्जा सुविधा उपलब्ध गराउने उद्देश्यले यो विशेष योजना सञ्चालनमा ल्याइएको हो।

विशेष घर कर्जा योजना २०८३ साल कार्तिक मसान्तसम्म लागू हुनेछ। उक्त अवधिपछि बैंकको प्रचलित ब्याजदर तथा सम्बन्धित कर्जा शर्तहरू लागू हुनेछन्।

बैंकले यो सुविधा देशभर रहेका आफ्ना १७६ वटै शाखामार्फत उपलब्ध गराउने जनाएको छ। इच्छुक ग्राहकले आफूलाई पायक पर्ने शाखामा सम्पर्क गरी योजनाका साथै कर्जा प्रक्रियाबारे थप जानकारी लिन सक्नेछन्।

यसैगरी, बैंकले ग्राहक तथा व्यवसायीलाई लक्षित गर्दै अटो लोन तथा कृषि एवं एसएमई व्यवसाय कर्जाका विशेष योजनासमेत सञ्चालनमा ल्याएको जनाएको छ।