बाढी प्रभावित नुवाकोट, रसुवा र धादिङमा राहत पुर्‍याउन याङ्गोको सहयोग


काठमाडौं ।

याङ्गोले नुवाकोट, रसुवा र धादिङका बाढी प्रभावित क्षेत्रमा राहत सामग्री पुर्‍याउन निःशुल्क ढुवानी सहयोग गरिरहेको छ। याङ्गो डेलिभरी कार्गो सेवामार्फत स्थानीय गैरसरकारी संस्थासँगको सहकार्यमा प्रभावित समुदायसम्म राहत सामग्री पुर्‍याउने काम भइरहेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार हालसम्मको पहलबाट तीन जिल्लाका १ हजारभन्दा बढी प्रभावित मानिससम्म राहत सामग्री पुर्‍याउन सहयोग पुगेको छ। भोटेकोसीमा आएको बाढीपछि राहत तथा उद्धार कार्य सुरु भएदेखि नै याङ्गोले आवश्यक ढुवानी सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।

राहत तथा उद्धार कार्य जारी रहेकाले सहयोगलाई निरन्तरता दिइएको कम्पनीको भनाइ छ। हामी नेपाल, अस्तित्व नेपाल र क्राइसिस कनेक्ट नेपाल लगायतका स्थानीय संस्थालाई काठमाडौंभित्र तथा काठमाडौं उपत्यकाबाट प्रभावित क्षेत्रमा राहत सामग्री पुर्‍याउन याङ्गो डेलिभरीले सहयोग गरिरहेको छ।

राहत अभियानमा याङ्गोका चालक साझेदारसमेत सहभागी भएका छन्। सेप्टेम्बर २ मा याङ्गोका फ्लीट पार्टनर इजी राइड नेपालले स्थानीय समुदायमा खुला रक्तदान कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा याङ्गोका प्रमुख सन्तोष पाण्डे, नेतृत्व टोली, चालक साझेदार, साझेदार संस्थाका प्रतिनिधि तथा स्थानीय नागरिकको सहभागिता रहेको थियो।

याङ्गो प्रमुख सन्तोष पाण्डेले विपद्का समयमा कम्पनीसँग उपलब्ध स्रोत र सञ्जाललाई राहत कार्यमा प्रयोग गर्नु प्राथमिकता रहेको बताए। उनका अनुसार कम्पनीसँग रहेका सवारीसाधन, चालक साझेदार तथा डेलिभरी नेटवर्कलाई प्रभावित क्षेत्रमा आवश्यक सामग्री पुर्‍याउन प्रयोग गरिएको हो।

याङ्गोले राहत सामग्री ढुवानीमा सहयोग गर्नुका साथै आफ्नो डिजिटल प्लेटफर्ममार्फत नागरिकलाई प्रधानमन्त्री राहत कोषमा सहयोग गर्नसमेत सहजीकरण गरेको जनाएको छ। याङ्गो एपमा राखिएको विशेष ब्यानरमार्फत प्रयोगकर्तालाई प्रधानमन्त्री राहत कोषको आधिकारिक वेबसाइटमा पुग्ने व्यवस्था गरिएको थियो।