नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा महालक्ष्मी विकास बैंकको सहभागिता


काठमाडौं ।

महालक्ष्मी विकास बैंकले काठमाडौंको भृकुटीमण्डपमा जारी नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०८३ मा सहभागिता जनाएको छ। प्रदर्शनी आज (असोज १) गतेदेखि ४ गतेसम्म सञ्चालन हुनेछ।

नेपाल जग्गा तथा आवास विकास महासंघ र नेपाल जग्गा तथा आवास विकास संघको संयुक्त आयोजनामा भइरहेको प्रदर्शनीमा बैंकले घर तथा जग्गा खरिद र घर निर्माणका लागि आवश्यक कर्जासम्बन्धी परामर्श, सहजीकरण तथा समन्वय गर्ने जनाएको छ।

ग्राहकको आवश्यकताअनुसार सरल, सहज तथा प्रतिस्पर्धी वित्तीय सेवा उपलब्ध गराउँदै आवास तथा निर्माण क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यले प्रदर्शनीमा सहभागी भएको बैंकले जनाएको छ।

बैंकका अनुसार घर तथा जग्गा खरिद तथा घर निर्माण कर्जामा आकर्षक ब्याजदर उपलब्ध गराइनेछ। साथै, प्रदर्शनीको अवसरमा कर्जाको प्रशासनिक शुल्कमा समेत विशेष छुट प्रदान गरिनेछ।

बैंकले हाल भदौ महिनाका लागि आफ्नो आधार दर ५.६४ प्रतिशत रहेको जनाएको छ। उक्त आधार दरका आधारमा घर तथा जग्गा खरिद वा घर निर्माणका लागि कर्जा लिने ग्राहकले प्रतिस्पर्धी ब्याजदरमा कर्जा सुविधा लिन सक्ने बैंकको भनाइ छ।

महालक्ष्मी विकास बैंकबाट कर्जा लिन इच्छुक ग्राहकले प्रदर्शनीस्थलको स्टल नम्बर ७७१ मा पुगेर बैंकका प्रतिनिधिसँग सम्पर्क गर्न सक्नेछन्। बैंकका प्रतिनिधिले ग्राहकसँग प्रत्यक्ष अन्तर्क्रिया गर्दै कर्जा प्रक्रिया तथा विभिन्न बैंकिङ सुविधाबारे आवश्यक जानकारी र परामर्श दिनेछन्।

यसैबीच, बैंकले हालै काठमाडौंको ज्ञानेश्वरमा कफी लाउञ्जसहितको डिजिटल हब समेत सञ्चालनमा ल्याएको जनाएको छ।