पेट्रोलियम पदार्थ चोरी गर्दै गर्दा दुई ट्याङ्कर नियन्त्रणमा, निष्पक्ष छानबिन र दोषीमाथि कारबाही गर्न व्यवसायी संघको माग

0
Shares

बुटवल। 

अमलेखगंजबाट रुपन्देहीस्थित भलवारी डिपोका लागि ल्याउँदै गरिएको पेट्रोलियम पदार्थ चोरी गदै गर्दाको अवस्थामा प्रहरीले दुईवटा ट्याङ्कर नियन्त्रणमा लिएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङबाट खटिएको टोलीले मंगलबार भैरहवास्थित सराफ आयल सेन्टरमा पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा दुईवटा ट्याङ्कर नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार भलवारी डिपोका लागि अमलेखगंजबाट पेट्रोलियम पदार्थ बोकेर आएका ट्याङ्करहरू सराफ आयल सेन्टरमा पुगेका थिए । करिब १० बजे प्रहरीले छापा मार्दा लु २ ख १५४४, र लु १ ख ६५०४  नम्बरको ट्याङ्करबाट तेल निकालिरहेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले जनाएको छ ।

प्रहरीले नियन्त्रणमा लिएका दुवै ट्याङ्करको सिल तोडिएको र पेट्रोलियम पदार्थ निकालिएको अवस्थामा भेटिएको जनाएको छ । घटनापछि ट्याङ्कर र एक जना सहचालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । भलवारी डिपोका लागि पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्कर चालक र पेट्रोल पम्प सञ्चालकबीचको मिलेमतोमा लामो समयदेखि तेल चोरी हुने गरेको दाबी केही निकटस्थ स्रोतले गरेका छन् । पछिल्लो घटनाले पेट्रोलियम पदार्थ ढुवानी, सिल परीक्षण र डिपोमा हुने नापजाँच प्रणालीमाथि समेत गम्भीर प्रश्न उठाएको छ । नेपालमा डिजल र मटितेल भारतवाट पाईपलाईन मार्फत आएको अमलेखगंन्ज डिपोवाट र पेट्रोल भारतको बैतालपुर डिपोवाट लोड भै आउने गर्दछ । 

भलवारी डिपोमा प्रयाप्त मात्रामा गाडी पार्किग नभएको र लोड भै आएका गाडीहरु ३ , ४ दिनसम्म  पार्क गर्दा चालकहरुको गलत मनसायले यस्ता कार्य हुने गरेको जानकारहरुले बताएका छन । यसैबीच पश्चिमाञ्चल ट्याङ्कर व्यवसायी संघ भलवाडीले एक विज्ञप्तिी जारी गदै घटनामा व्यवसायीको कुनै संलग्नता नभएको र गलत कार्य गर्ने चालकलाई कानुनी दायरामा ल्याउन प्रहरी प्रशासनलाई अनुरोध गरेको छ । 

  संघका अध्यक्ष दयाशंकर कशौधन र महासचिव  भुपराज अर्यालद्धारा जारी विज्ञप्तीमा  पेट्रोलियम पदार्थजस्तो संवेदनशील तथा अत्यावश्यक वस्तुको ढुवानीमा संलग्न ट्याङ्कर, चालक तथा सहचालकहरु कुनै पनि किसिमको अनियमितता, चोरी वा गैरकानुनी कार्यमा संग्लग्न भएको पाइएमा त्यसको निष्पक्ष छानबिन गरी दोषीमाथि प्रचलित कानुनबमोजिम कारबाही हुनुपर्छ भन्ने संघको स्पष्ट धारणा रहेको छ। संघ घटनाको वास्तविकता, ट्याङ्करको सिल कसरी र कुन अवस्थामा तोडिएको हो, पेट्रोलियम पदार्थ निकाल्ने कार्यमा को–को संलग्न थिए भन्ने विषयमा पूर्ण अनुसन्धान तथा सत्य तथ्य सार्वजनिक गर्न माग गर्दछ ।  यस्तो गलत क्रियाकलापमा  ट्याङ्कर व्यवसायी संघ तथा संघमा आवद्ध कुनैपनि ब्यवसायीको सग्लग्नता नरहेको समेत यसै बिज्ञप्ति मार्फत स्पस्ट पार्दछौ । पेट्रोलियम पदार्थ ढुवानीमा संलग्न व्यवसायी, चालक तथा सहचालकहरूले निर्धारित नियम, सुरक्षा मापदण्ड तथा नेपाल आयल निगमका प्रचलित कार्यविधिको पूर्ण पालना गर्नुपर्नेमा संघ सदैव प्रतिबद्ध छ। साथै, ट्याङ्करमा लगाइएको सिल, लोडिङदेखि अनलोडिङसम्मको प्रक्रिया तथा बाटोमा हुने सम्भावित अनधिकृत हस्तक्षेपसमेतलाई गम्भीरतापूर्वक अनुसन्धान गर्न सम्बन्धित निकायसमक्ष संघ आग्रह गर्दछ।उक्त घटनाको निष्पक्ष, पारदर्शी र तथ्यमा आधारित अनुसन्धान गरी वास्तविक दोषी पहिचान गर्न तथानिर्दोष व्यवसायी, चालक वा सहचालकमाथि अनावश्यक आरोप वा कारबाही नहोस् भन्नेमा संघको विशेष आग्रह छ। साथै, अनुसन्धानका क्रममा संघसँग सम्बन्धित आवश्यक जानकारी तथा सहयोग माग भएमा संघलेसम्बन्धित निकायलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछौ ।घटनामा संलग्न चालक तथा सहचालकलाई संघले उपलब्ध गराउने हरेक सुविधाबाट वञ्चित गर्ने निर्णय समेत संघले गरेको छ।