ताङखुवाली भट्टराई समाजद्वारा बाढी पीडितलाई ३ लाख ५१ हजार सहयोग


काठमाडौं।

धनकुटा जिल्लाको ताङखुवाबाट काठमाडौं आई बसोबास गर्दै आएका भट्टराई परिवारलाई संगठित गर्दै आएको ताङखुवाली (धनकुटा) भट्टराई सेवा समाज, काठमाडौं, नेपालले भोटेकोशी बाढीपीडितका लागि ३ लाख ५१ हजार सहयोग गरेको छ।

समाजले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा हुने गरी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई चेक हस्तान्तरण गरेको हो।

समाजका तर्फबाट भदौ २९ गते अर्थमन्त्री वाग्लेलाई ३ लाख ५१ हजारको चेक हस्तान्तरण गरिएको हो। प्राकृतिक विपत्तिका कारण पीडित बनेका परिवारलाई राहत पुर्‍याउन सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरिएको समाजले जनाएको छ।

भोटेकोशी क्षेत्रमा आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहतमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै समाजले आगामी दिनमा पनि सामाजिक तथा मानवीय कार्यमा निरन्तर योगदान गर्ने प्रतिबद्धता जनाएको छ।