५५ वर्ष वा त्यसभन्दा कम उमेरमा देखिने क्यान्सर र शरीरको जैविक उमेर अपेक्षाभन्दा छिटो बढ्नुबीच सम्बन्ध हुन सक्ने नयाँ अध्ययनले देखाएको छ।
अनुसन्धानकर्ताका अनुसार पछिल्ला पुस्ताका केही मानिसमा उनीहरूको वास्तविक उमेरभन्दा शरीर जैविक रूपमा बढी उमेरको देखिने गरेको पाइएको छ। शरीरको जैविक उमेर वास्तविक उमेरभन्दा जति बढी हुन्छ, कम उमेरमै क्यान्सर हुने जोखिम पनि त्यति नै बढी देखिएको अध्ययनमा उल्लेख छ।
अनुसन्धानमा फोक्सो, आन्द्रा र पाठेघरसहित केही अंगमा हुने कम उमेरको क्यान्सर र शरीरको जैविक रूपमा छिटो बुढ्यौलीबीच सम्बन्ध देखिएको थियो।
तर जैविक उमेर छिटो बढ्नु नै कम उमेरमा क्यान्सर हुनुको प्रत्यक्ष कारण हो भन्ने प्रमाण भने अध्ययनले दिएको छैन। यस विषयमा थप अनुसन्धान आवश्यक रहेको अनुसन्धानकर्ताहरूले बताएका छन्।
स्वास्थ्य विज्ञहरूका अनुसार खानपान, शारीरिक गतिविधि, निद्रा, तनाव, वातावरणीय प्रभाव तथा अन्य जीवनशैलीका कारण शरीरको जैविक उमेरमा प्रभाव पर्न सक्छ। यद्यपि यीमध्ये कुन कारणले कम उमेरमा क्यान्सरको जोखिम बढाउन बढी भूमिका खेल्छ भन्ने विषयमा थप अध्ययन आवश्यक छ।











प्रतिक्रिया