चितवन ।
पूर्वी चितवनको रत्ननगर नगरपालिकामा पछिल्लो समय स्थायी बसोबासका लागि बाहिरी जिल्लाबाट बसाइँ सरेर आउने नागरिकको संख्या उल्लेख्य रूपमा बढेको छ । आर्थिक वर्ष २०८२।०८३ मा नगरमा नयाँ जन्मिएका बालबालिकाको संख्याभन्दा बाहिरबाट बसाइँ सरेर आउने नागरिकको संख्या झन्डै दोब्बर देखिएको हो ।
नगरपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाका अनुसार उक्त आर्थिक वर्षमा ५०५ वटा बसाइँ सराइसम्बन्धी दर्तामार्फत १ हजार ६०३ जना नागरिक बाहिरी क्षेत्रबाट रत्ननगर आएका छन् । यसको तुलनामा रत्ननगरबाट अन्यत्र स्थायी रूपमा बसाइँ सरेर जानेको संख्या १७४ दर्तामार्फत ४५८ जना मात्रै रहेको छ । यसरी नगर छाडेर जानेको तुलनामा भित्रिने नागरिकको संख्या करिब चार गुणा बढी देखिएको छ । तथ्यांकले रत्ननगरमा स्थायी बसोबासका लागि आउनेको आकर्षण बढ्दै गएको देखाएको छ ।
सामाजिक सुरक्षा तथा पञ्जीकरण उपशाखा प्रमुख रामप्रसाद बस्ताकोटीका अनुसार आर्थिक वर्ष २०८२।०८३ मा रत्ननगरमा जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाइँसराइसम्बन्धी गरी कुल २ हजार ६९९ वटा व्यक्तिगत घटना दर्ता भएका छन् । उक्त अवधिमा ८८६ जना बालबालिकाको जन्मदर्ता भएको छ । जन्मदर्ता हुनेमा ४६२ पुरुष र ४२४ महिला छन् । तेस्रो लिंगीको जन्मदर्ता भने भएको छैन । वडागत रूपमा वडा नम्बर १३ मा सबैभन्दा धेरै ८९ जनाको जन्मदर्ता भएको छ भने वडा नम्बर ६ मा सबैभन्दा कम ३४ जनाको जन्मदर्ता भएको छ ।
त्यस्तै, नगरपालिकामा एक वर्षको अवधिमा ४८२ जनाको मृत्यु दर्ता भएको छ । मृत्यु दर्ता हुनेमा २६३ पुरुष र २१९ महिला छन् । वडा नम्बर १३ मा सबैभन्दा धेरै ४४ जनाको मृत्यु दर्ता भएको छ भने वडा नम्बर २ मा सबैभन्दा कम १६ जनाको मृत्यु दर्ता भएको तथ्यांक छ । पारिवारिक घटनातर्फ ५४१ जोडीले विवाह दर्ता गराएका छन् । वडा नम्बर १३ मा सबैभन्दा धेरै ४८ वटा विवाह दर्ता हुँदा वडा नम्बर ६ मा सबैभन्दा कम १७ वटा विवाह दर्ता भएका छन् ।
यसै अवधिमा १११ जोडीले सम्बन्ध विच्छेद दर्ता गराएका छन् । वडा नम्बर ९ मा सबैभन्दा धेरै १२ वटा सम्बन्ध विच्छेद दर्ता भएका छन् भने वडा नम्बर ८ मा सम्बन्ध विच्छेदको घटना दर्ता भएको छैन । समग्र व्यक्तिगत घटना दर्तामा पनि वडागत असमानता देखिएको छ । वडा नम्बर १३ मा सबैभन्दा धेरै २६२ वटा व्यक्तिगत घटना दर्ता भएका छन् भने वडा नम्बर ६ मा सबैभन्दा कम ८५ वटा घटना दर्ता भएका छन् । नगरपालिकामा जन्मभन्दा बसाइँसराइबाट भित्रिने नागरिकको संख्या उल्लेख्य रूपमा बढी हुनु र बाहिरिनेभन्दा भित्रिनेको संख्या करिब चार गुणा हुनु रत्ननगरमा जनसंख्या थपिने क्रम तीव्र रहेको संकेत हो ।











प्रतिक्रिया