गजेन्द्रनारायण सिंह अस्पतालमा लापरबाही र नातागोता विवादमा

डाक्टरसहित ६ कर्मचारी निलम्बित, मन्त्रीद्वारा छानबिनको घोषणा

1.32k
Shares

–स्वास्थ्यमन्त्रीद्वारा २४ घण्टामै स्पष्टीकरण माग

–छुट्टाछुट्टै उच्चस्तरीय छानबिन टोली गठन

–गैरकानुनी नियुक्तिको समेत निष्पक्ष छानबिन गर्न माग

काठमाडौँ।

सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारका लागि पुगेकी गर्भवती महिलाले अस्पतालको मूल गेटबाहिरै शिशु जन्माएको घटनाले अस्पतालको उपचार प्रणालीसँगै त्यहाँको प्रशासनिक व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाएको छ । अस्पतालको लापरवाहीका कारण सेवाग्राही परिसरबाहिरै नवजात शिशु जन्माउन बाध्य भएको आरोपबीच ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ जना कर्मचारीलाई छानबिन प्रतिवेदन नआएसम्मका लागि कामकाजबाट हटाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले अस्पतालमा कर्मचारी नियुक्ति र प्रशासनिक प्रभावका विषयमा उठेका गम्भीर प्रश्नहरूलाई छानबिन समितिले प्रष्ट पार्ने जानकारी दिनुभएको छ । अस्पतालभित्र कर्मचारी नियुक्तिमा नातागोता र पहुँचको दुरुपयोग भएको हो कि होइन भन्ने विषयलाई समेत छानबिनको दायरामा ल्याइने मन्त्री मेहताको भनाइ छ । असन्तुष्ट कर्मचारीहरूले विभिन्न विभागमा उच्चपदस्थको नाता पर्ने व्यक्तिहरू भर्ती गरिएको भन्दै मन्त्रीसमक्ष निष्पक्ष छानबिनको माग राखेका छन् । मन्त्रालयले सम्बन्धित कर्मचारीको नियुक्ति प्रक्रिया, योग्यता, दरबन्दी, करारको प्रकृति, छनोट प्रणाली र उनीहरूको जिम्मेवारीबारे स्वतन्त्र पुष्टि गर्न छानबिन टोली खटाएको छ ।

मन्त्री मेहताले शुक्रवार संसद्मा दिनुभएको जानकारीअनुसार मन्त्रालयले २४ घण्टाभित्र स्पष्टीकरण सोधेकामा अस्पतालबाट प्रतिउत्तर प्राप्त भइसकेको छ । प्रारम्भिक विवरणअनुसार ३० वर्षीया बबिताकुमारी पासवान भदौ २४ गते बिहान करिब २ बजे प्रसव व्यथा लागेपछि अस्पताल पुग्नुभएको थियो । उहाँलाई प्रसूति वार्डको बेड नम्बर २४ मा भर्ना गरी थप जाँचको सुझाव दिइएको थियो । तर, उहाँ अस्पतालबाट बाहिरिनुभयो र बिहान ४ः४५ बजे मूल गेटबाहिरै शिशु जन्माउन बाध्य हुनुभयो ।

प्रसूति भएपछि आमा र नवजात शिशु सालनालसहित पुनः प्रसूति वार्डमा पुगेका थिए । ड्युटीमा रहेका स्वास्थ्यकर्मीले सालनाल काटेर उपचारका लागि बस्न आग्रह गरे पनि उहाँ पुनः बाहिरिएको स्पष्टीकरणमा उल्लेख छ । घटनालगत्तै मन्त्रालयको निर्देशनमा दुवैको खोजी गरी बेड नम्बर २२ मा भर्ना गरेर प्रत्यक्ष निगरानीमा उपचार गराइएको छ । हाल आमा र शिशु दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।

घटनाको गम्भीरतालाई ध्यानमा राख्दै अस्पतालले डा. उषा देव, स्टाफ नर्सद्वय मनिषाकुमारी साह र सजन चौधरी, कार्यालय सहयोगी रेणु ठाकुर, स्वीपर कृष्णा मेहतर तथा सुरक्षा गार्ड देवकान्त झालाई छानबिन प्रतिवेदन नआएसम्मका लागि कामकाजबाट निलम्बन गरेको छ । तर, कर्मचारीलाई अस्थायी रूपमा हटाउँदैमा मात्र जिम्मेवारी पूरा नहुने भन्दै प्रसूति सेवामा कार्यरत कर्मचारीबाट कहाँ र कसको कमजोरी भयो भन्नेबारे सूक्ष्म अध्ययन भइरहेको छ । गर्भवतीको अवस्था मूल्यांकन, जोखिम पहिचान र बिरामी बाहिरिँदा सुरक्षा÷निगरानी नहुनुका कारणहरूबारे पनि जवाफ खोजिँदै छ ।

घटनाको छानबिनका लागि नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा. सुप्रभात श्रेष्ठ, एथिकल कमिटीका डा. अजय साह र स्वास्थ्य सेवा विभागका डा. पवनजंग रायमाझीसहितको पाँच सदस्यीय उच्चस्तरीय टोली बिहीवार नै राजविराज पुगिसकेको छ । यता जिल्ला प्रशासन कार्यालय सप्तरीले पनि छुट्टै छानबिन समिति गठन गरेको छ ।

अस्पतालमा एउटै व्यक्तिको प्रभावमा ठूलो संख्यामा कर्मचारी नियुक्ति गरिएको आरोप सत्य ठहरिएमा यसले सार्वजनिक स्वास्थ्य संस्थाको निष्पक्षतामा ठूलो धक्का पुग्नेछ । त्यसैले ती नियुक्ति प्रतिस्पर्धात्मक थिए या थिएनन् र दरबन्दीअनुसार थिए कि थिएनन् भन्ने स्पष्ट हुनु आवश्यक छ । मातृ तथा नवजात शिशुको जीवन रक्षा राज्यको दायित्व भएकाले दोषीलाई कडा कानुनी कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग उठेको छ । अब गेटबाहिर सुत्केरी गराउने परिस्थिति कसरी बन्यो र अस्पतालभित्रको ‘नातागोता’को आरोपमा कत्तिको सत्यता छ भन्ने कुरा छानबिन प्रतिवेदनले नै स्पष्ट पार्नेछ ।