एनआईसी एशिया क्यापिटलको १०औँ साधारणसभा सम्पन्न, ५० प्रतिशत नगद लाभांश पारित


काठमाडौँ।

एनआईसी एशिया क्यापिटल लिमिटेडको १०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। शुक्रबार थापाथलीस्थित क्यापिटलको रजिस्टर्ड कार्यालयमा सम्पन्न सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण पारित गर्दै ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत अनुमोदन गरेको छ।

सभाले सञ्चालक समितिको प्रतिवेदन, २०८३ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायत वार्षिक वित्तीय विवरणमाथि छलफल गरी पारित गरेको हो।

क्यापिटलका सञ्चालक समितिका अध्यक्ष रुपेश लुईटेलले २० करोड रुपैयाँ चुक्ता पुँजी रहेको क्यापिटलले समीक्षा अवधिमा २८ करोड ९८ लाख रुपैयाँभन्दा बढी आम्दानी र १० करोड ५१ लाख रुपैयाँभन्दा बढी खुद मुनाफा आर्जन गर्न सफल भएको जानकारी दिनुभयो।

क्यापिटलका अनुसार २०८३ असार मसान्तसम्म ८ लाख ६३ हजारभन्दा बढी डिम्याट खाता खोलिएका छन्। त्यस्तै, म्युचुअल फन्डअन्तर्गत चार बन्दमुखी र दुई खुलामुखी गरी ६ वटा योजनामार्फत ७ अर्ब रुपैयाँभन्दा बढी रकम व्यवस्थापन गरिएको छ।

लगानी व्यवस्थापन सेवाअन्तर्गत ७१० जना ग्राहकबाट ३ अर्ब रुपैयाँभन्दा बढी रकम व्यवस्थापन भइरहेको क्यापिटलले जनाएको छ। त्यस्तै, शेयर रजिस्ट्रार सेवाअन्तर्गत २४ वटा कम्पनीलाई सेवा प्रदान गर्दै आएको छ भने निष्कासनसम्बन्धी सेवाअन्तर्गत २५ वटा कम्पनीको निष्कासन कार्य सम्पन्न गरिसकेको जनाएको छ।

सभामा क्यापिटलले प्रस्ताव गरेको पछिल्लो लाभांशसमेत जोड्दा हालसम्म आफ्ना शेयरधनीलाई ३४० प्रतिशत प्रतिफल वितरण गर्न सफल भएको जानकारी गराइएको थियो।