सिटिजन्स बैंकको मधेश प्रदेशमा ‘हाइ–भोल्युम ग्रोथ अभियान, गुणस्तरीय कर्जा र बजार नेतृत्वमा जोड


काठमाडौँ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मधेश प्रदेशमा उच्च व्यावसायिक वृद्धि, गुणस्तरीय कर्जा तथा बजार नेतृत्वलाई प्राथमिकतामा राख्दै ‘ड्राइभिङ हाइ–भोल्युम ग्रोथ, क्वालिटी क्रेडिट, एन्ड मार्केट लिडरसिप ०८३/८४’ कार्यक्रम आयोजना गरेको छ।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलसहित वरिष्ठ कार्यकारी, मधेश प्रदेश प्रमुख, शाखा प्रबन्धक तथा अन्य कर्मचारीको सहभागिता रहेको थियो।

कार्यक्रममा गत आर्थिक वर्षको कार्यप्रगतिको समीक्षा गर्दै चालु आर्थिक वर्षको बजेट, रणनीतिक कार्ययोजना तथा प्राथमिकताबारे छलफल गरिएको बैंकले जनाएको छ। साथै, बैंकको केन्द्रीय कार्यालय र प्रदेश तहबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा समेत अन्तरक्रिया भएको थियो।

मधेश प्रदेशका आठ जिल्लामा सिटिजन्स बैंकका २९ शाखा कार्यालय सञ्चालनमा छन्। बैंकले यसअघि बागमती प्रदेशमा ‘लिडिङ फ्रम द फ्रन्टः स्ट्राटेजिक ग्रोथ इम्पेरेटिभ्स फर बागमती प्रदेश’ र कोशी प्रदेशमा ‘एक्सेलेरेटिङ कमर्सियल मोमेन्टमः बिजनेस एक्सपान्सन एन्ड एसेट क्वालिटी इन्हान्समेन्ट इन कोशी प्रदेश’ कार्यक्रम सम्पन्न गरिसकेको छ। सोही क्रममा अन्य प्रदेशमा पनि यस्ता कार्यक्रम सञ्चालन गर्ने बैंकको योजना छ।

कर्जा र निक्षेपमा वृद्धि

बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ मा कर्जा प्रवाह १.२४ प्रतिशतले वृद्धि भई १ खर्ब ७७ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, निक्षेप संकलन ९.२२ प्रतिशतले बढेर २ खर्ब ३३ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ।

सो अवधिमा बैंकको खुद नाफासमेत ६३.०५ प्रतिशतले वृद्धि भई २ अर्ब ९ करोड ८६ लाख रुपैयाँ पुगेको बैंकले जनाएको छ।

बैंकले विश्वकै प्रतिष्ठित ‘बैंक अफ द इयर २०२४ र २०२५’ अवार्ड प्राप्त गरेको उल्लेख गर्दै पछिल्लो समय डिजिटल तथा लक्षित बैंकिङ सेवामा समेत विस्तार गर्दै आएको जनाएको छ।

बैंकले फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ। त्यस्तै, युवा लक्षित ‘सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट’, एकीकृत अनलाइन प्लेटफर्म ‘सिटिजन्स डिजी बैंक सेवा’ तथा फ्रिलान्सरलाई लक्षित ‘फ्रिलान्सर सेविङ्स अकाउन्ट’ सञ्चालनमा ल्याएको छ।

यसैगरी मोबाइल बैंकिङ एपमार्फत शेयर आवेदन तथा सी–आस्बा/सीआरएन सेवा लिन सकिने सुविधा र अन्य बैंकका ग्राहकले समेत सिटिजन्स बैंकका शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्ने क्रस बैंक टेलर सेवा समेत उपलब्ध गराइएको बैंकले जनाएको छ।

सिटिजन्स बैंकले हाल देशका ६१ जिल्लामा २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाख ६४ हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ।