काठमाडौँ।
साउदी अरेबियाले इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबी गर्दै आफ्नो महत्वपूर्ण पूर्व–पश्चिम तेल पाइपलाइन अस्थायी रूपमा बन्द गरेको छ। बिहीबार पाइपलाइनलाई लक्षित गरी भएका लगातार ड्रोन आक्रमणपछि सुरक्षा सावधानी अपनाउँदै पाइपलाइन बन्द गरिएको साउदी अधिकारीहरूले बताएका छन्।
साउदी प्रेस एजेन्सी (एसपीए) का अनुसार सेप्टेम्बर १० को बिहान पूर्व–पश्चिम तेल पाइपलाइनमा धेरै ड्रोन आक्रमण भएका थिए। आक्रमणका क्रममा केही मानिस घाइते हुनुका साथै पाइपलाइनमा समेत क्षति पुगेको बताइएको छ।
साउदी ऊर्जा मन्त्रालयका एक अधिकारीलाई उद्धृत गर्दै एसपीएले ठूलो क्षति हुन नदिन तथा सुरक्षालाई ध्यानमा राख्दै पाइपलाइनबाट तेलको आवागमन अस्थायी रूपमा रोकिएको जनाएको छ। क्षतिग्रस्त संरचनाको मर्मत तथा पुनर्स्थापनाको काम भइरहेको पनि अधिकारीहरूले बताएका छन्।
साउदी विदेश मन्त्रालयले आक्रमणको कडा निन्दा गर्दै पाइपलाइनमा प्रहार गरिएका ड्रोनहरू इराकी भूभागबाट आएको दाबी गरेको छ।
तर, साउदी अरेबियाले तत्काल कुनै प्रतिकारात्मक कदम नचाल्ने जनाएको छ। इराकका प्रधानमन्त्रीले आफ्नो भूमिबाट हुने यस्ता आक्रमण रोक्न आवश्यक कदम चाल्न इराकी सरकारलाई समय दिन आग्रह गरेपछि साउदीले हालका लागि संयमता अपनाउने निर्णय गरेको हो।
साउदी विदेश मन्त्रालयले इराकी सरकारको प्रयासलाई समर्थन गर्ने जनाएको छ। यद्यपि, आफ्नो सार्वभौमसत्ता र राष्ट्रिय सुरक्षाको रक्षा गर्न आवश्यक सबै कदम चाल्ने अधिकार भने सुरक्षित रहेको स्पष्ट पारेको छ।
पूर्व–पश्चिम तेल पाइपलाइन साउदी अरेबियाको महत्वपूर्ण ऊर्जा पूर्वाधार हो। यसले देशको पूर्वी क्षेत्रमा रहेका प्रमुख तेल क्षेत्रलाई पश्चिमी तटसँग जोड्छ। पछिल्लो आक्रमण साउदी अरेबिया र यमनका हुथी विद्रोहीबीच तनाव बढिरहेका बेला भएको हो।












प्रतिक्रिया