माछापुच्छ्रे क्यापिटलको सातौँ वार्षिक साधारण सभा सम्पन्न


काठमाडौँ।

माछापुच्छ्रे क्यापिटल लिमिटेडको सातौँ वार्षिक साधारण सभा बुधबार काठमाडौंको गैरीधारास्थित बालुवाटार प्यालेस बैंक्वेटमा सम्पन्न भएको छ।

कम्पनी सञ्चालक समितिका अध्यक्ष विश्वम्भर न्यौपानेको अध्यक्षतामा सम्पन्न सभामा नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष तथा माछापुच्छ्रे बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।

सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले गत आर्थिक वर्षमा हासिल भएका प्रमुख उपलब्धि, कम्पनीले सामना गरेका चुनौती तथा आगामी कार्ययोजनाबारे जानकारी गराएका थिए।

साधारण सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण तथा आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ।

त्यस्तै, कम्पनीको चुक्ता पुँजीको ७ प्रतिशत बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभाले स्वीकृत गरेको छ। करसहित कुल २ करोड ४३ हजार ७६५ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको कम्पनीले जनाएको छ।

सभाको समापन गर्दै अध्यक्ष न्यौपानेले कम्पनीप्रति विश्वास र निरन्तर सहयोग गर्ने शेयरधनी, नियामक निकाय, सेवाग्राही, लेखापरीक्षक, साझेदार संस्था, सञ्चारकर्मी, कर्मचारी तथा माछापुच्छ्रे बैंकलगायत सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरे।

उनले आगामी दिनमा सबै सरोकारवालाको साथ, विश्वास र सहकार्यमा कम्पनीलाई थप सुदृढ, सक्षम र प्रतिस्पर्धी संस्थाका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।