काठमाडौं, (नेस) ।
प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि सरकारले सञ्चालनमा ल्याएका प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपियाँभन्दा बढी रकम जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलवार बिहानसम्म दुवै कोषमा ११ अर्ब ९५ करोड १७ लाख ५० हजार २६१ रुपियाँ जम्मा भएको हो ।
जम्मा रकममध्ये विभिन्न नौवटा वाणिज्य बैंकमा ८ अर्ब ७६ करोड ६९ लाख रुपियाँ मौज्दात रहेको कार्यालयले जनाएको छ । त्यस्तै, डलर खातामा ३ अर्ब १८ करोड १७ लाख मौज्दात रहेको छ । कोषमा संकलित रकममध्ये सरकारले यसअघि नै १ अर्ब रुपियाँ रसुवाका बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नाममा निकासा गरिसकेको छ ।
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सरकारले प्रभावित क्षेत्रका नागरिकको तत्काल उद्धार, राहत तथा दीर्घकालीन पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा सहयोग गर्न सार्वजनिक आह्वान गर्दै आएको छ । सरकारको आह्वानपछि पछिल्लो समय निजी क्षेत्र, बैंक तथा वित्तीय संस्था, व्यवसायी, विभिन्न संघसंस्था तथा सर्वसाधारणबाट कोषमा सहयोग रकम आउने क्रम तीव्र बनेको छ । बाढीपछि ७ अर्ब ६८ करोड ४४ लाख जम्मा भएको अर्थमन्त्रालयले जनाएको छ ।
कोषमा उल्लेख्य रकम संकलन भइरहेसँगै अब त्यसको पारदर्शी परिचालन र प्रभावकारी वितरण मुख्य चासोको विषय बनेको छ । विपत्तिबाट विस्थापित तथा प्रभावित नागरिकको वास्तविक आवश्यकता पहिचान गरी संकलित रकम राहतसँगै पुनःस्थापना र पुनर्निर्माणमा परिणाममुखी ढंगले खर्च गर्नुपर्ने चुनौती सरकारसामु छ ।
विशेषगरी भोटेकोशी बाढीबाट मानवीय तथा भौतिक क्षति व्यहोरेका रसुवा, नुवाकोटलगायतका प्रभावित क्षेत्रका नागरिकलाई तत्काल राहत उपलब्ध गराउनुका साथै क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण र प्रभावित परिवारको दीर्घकालीन पुनःस्थापनामा कोषको रकम केन्द्रित गर्नुपर्ने आवश्यकता देखिएको छ ।












प्रतिक्रिया