डा. हरिहर देव पन्तको एघारौँ स्मृति दिवस सम्पन्न


काठमाडौं ।

नेपालमा लघुवित्तका पिता स्वर्गीय डा. हरिहर देव पन्तको एघारौँ स्मृति दिवस विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ।

काठमाडौंको नक्सालस्थित भगवतीबहालमा रहेको निर्धन भवनमा आयोजित कार्यक्रम राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको प्रमुख आतिथ्यता तथा निर्धन संस्थाका अध्यक्ष देवेन्द्र बहादुर राउतको सभापतित्वमा सम्पन्न भएको हो।

कार्यक्रममा आयोजक संस्था निर्धन तथा डा. हरिहर देव पन्त फाउण्डेसनका अध्यक्ष जनार्दन देव पन्तले सहभागीलाई स्वागत गर्दै नेपालमा अझै करिब २० प्रतिशत जनता गरिबीको रेखामुनि रहेको उल्लेख गरे। उनले गरिबी न्यूनीकरणका लागि डा. हरिहर देव पन्तले अघि सारेको लघुवित्त सेवाको मार्गदर्शन, मूल्य र मान्यतालाई अझ प्रभावकारी रूपमा अनुसरण गर्नुपर्ने बताए।

स्मृति दिवसका अवसरमा स्वर्गीय डा. हरिहर देव पन्तको तस्वीरमा माल्यार्पण तथा दीप प्रज्वलन गरिएको थियो। सोही अवसरमा ‘समृद्धिको मार्गमा, २०८३’ नामक लघुउद्यमीहरूको सफलताको कथा संग्रह पुस्तकसमेत विमोचन गरिएको छ। पुस्तकको विमोचन प्रमुख अतिथि डा. गुणाकर भट्ट, डा. रेवत बहादुर कार्की, डा. फत्त बहादुर केसी, देवेन्द्र बहादुर राउत र जनार्दन देव पन्तले संयुक्त रूपमा गरेका थिए।

निर्धन उत्थान लघुवित्त संस्थाले लघुवित्त सेवामार्फत सफल भएका उद्यमीहरूको संघर्ष र सफलताका कथा समेटेर हरेक वर्ष यस्तो पुस्तक प्रकाशन गर्दै आएको जनाएको छ।

तीन विधामा पुरस्कार वितरण

डा. हरिहर देव पन्त फाउण्डेसनले डा. पन्तले सुरु गरेको अभियानलाई निरन्तरता दिँदै हरेक वर्ष विभिन्न पुरस्कार प्रदान गर्दै आएको छ। यस वर्ष पनि डा. हरिहर देव पन्त शैक्षिक उत्कृष्टता पुरस्कार, डा. हरिहर देव पन्त लघुउद्यमशील पुरस्कार र डा. हरिहर देव पन्त आर्थिक पत्रकारिता पुरस्कार प्रदान गरिएको छ।

आर्थिक क्षेत्रमा योगदान पुर्‍याउने विद्यार्थीको मनोबल बढाउने उद्देश्यले प्रदान गरिने शैक्षिक उत्कृष्टता पुरस्कारअन्तर्गत त्रिभुवन विश्वविद्यालयबाट मौद्रिक अर्थशास्त्र विषयमा स्नातकोत्तर तहमा शैक्षिक सत्र २०२१–२०२३ मा ३.७७ अंकसहित सर्वप्रथम भएका कमल पौडेललाई ५० हजार रुपैयाँ नगद र सम्मानपत्र प्रदान गरिएको छ।

त्यस्तै, लघुउद्यमीहरूको मनोबल बढाउने उद्देश्यले सातै प्रदेशका उत्कृष्ट एक–एक जना उद्यमीलाई जनही ५० हजार रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरिएको छ।

पुरस्कृत हुने उद्यमीहरूमा कोशी प्रदेशबाट भोजपुरकी शान्तिमाया तामाङ, मधेश प्रदेशबाट रौतहट गरुडाकी रैमलवा देवी, बागमती प्रदेशबाट काठमाडौं रामकोटकी रसिला तामाङ, गण्डकी प्रदेशबाट गोरखा गाईखुरकी धनमाया गुरुङ, लुम्बिनी प्रदेशबाट बाँके कोहलपुरकी सोबिता काफ्ले, कर्णाली प्रदेशबाट सुर्खेत विद्यापुरकी पदमा देउवा रोकाय र सुदूरपश्चिम प्रदेशबाट डडेलधुरा अमरगढीकी कविता सांकी रहेका छन्।

बागमती प्रदेशबाहेक अन्य प्रदेशका पुरस्कृत उद्यमीलाई सम्बन्धित प्रदेशमै कार्यक्रम आयोजना गरी पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ।

यसैगरी, स्वर्गीय डा. हरिहर देव पन्तको स्मृतिमा स्थापित आर्थिक पत्रकारिता पुरस्कार यस वर्ष लगानी न्यूज डटकमका सम्पादक आशीष ज्ञवालीलाई प्रदान गरिएको छ। उनलाई पुरस्कारस्वरूप १ लाख रुपैयाँ नगद तथा सम्मानपत्र प्रदान गरिएको हो।

समयसापेक्ष लघुवित्त नीति आवश्यक : भट्ट

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले डा. हरिहर देव पन्तको स्मृति दिवसमा आफू निरन्तर सहभागी हुँदै आएको उल्लेख गर्दै फाउण्डेसनले आयोजना गर्दै आएको कार्यक्रमले समाजलाई प्रेरणा र महत्वपूर्ण सन्देश दिन सफल भएको बताए।

उनले विपन्न वर्गलाई उद्यमशील बनाउन लघुवित्त संस्थाहरूले वित्तीय सेवासँगै गैरवित्तीय सेवा पनि प्रभावकारी रूपमा प्रवाह गर्नुपर्ने बताए। यसो गर्न सकेमा अहिले लघुवित्त क्षेत्रमा देखिएका चुनौती सामना गर्न सहज हुने उनको भनाइ थियो।

नेपालमा २०६४ सालमा जारी भएको लघुवित्त नीति पुरानो भइसकेकाले वर्तमान समय र आवश्यकताअनुसार नयाँ लघुवित्त नीति ल्याउन आवश्यक रहेको भट्टले बताए। जलवायु परिवर्तन तथा प्राकृतिक प्रकोपको जोखिममा रहेको नेपालमा लघुवित्त क्षेत्रसहित सबै पक्षले सामाजिक उत्तरदायित्वलाई समन्वय गर्दै अघि बढ्नुपर्नेमा उनले जोड दिए।

विषय विज्ञ, विद्यार्थी, पत्रकार तथा उद्यमीको सहभागितामा आयोजित कार्यक्रम समयसापेक्ष र उत्कृष्ट संयोजनमा सम्पन्न भएको भन्दै भट्टले आयोजकको प्रशंसा गरे।

कार्यक्रममा डा. फत्त बहादुर केसी, डा. रेवत बहादुर कार्की, भागवत भट्टराई तथा निर्धन उत्थानका प्रमुख कार्यकारी अधिकृतलगायतले मन्तव्य राखेका थिए।

कार्यक्रमको समापन गर्दै सभापति देवेन्द्र बहादुर राउतले डा. हरिहर देव पन्तको निधन भएको ११ वर्ष बितिसक्दा पनि उहाँका विचार र मार्गदर्शन उत्तिकै सान्दर्भिक रहेको बताए। लघुवित्त सेवाको उद्देश्य र सञ्चालन डा. पन्तकै मार्गदर्शनअनुसार अघि बढाउनु नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुने उनको भनाइ थियो।