काठमाडौं ।
मुक्तिनाथ विकास बैंक लिमिटेडले जानकी फाइनान्स कम्पनी लिमिटेड र सिन्धु विकास बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गर्ने सम्बन्धमा प्रारम्भिक सम्झौता गरेको छ।
तीन वटै वित्तीय संस्थाबीच प्रस्तावित प्राप्ति प्रक्रियालाई अघि बढाउने सम्बन्धमा Memorandum of Understanding (MoU) मा हस्ताक्षर भएको हो। सम्झौता पत्रमा तीन वटै संस्थाका तर्फबाट सम्बन्धित प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन्।
वित्तीय क्षेत्रलाई थप सुदृढ बनाउने, संस्थागत क्षमता अभिवृद्धि गर्ने, व्यवसाय विस्तार गर्ने तथा ग्राहकलाई थप प्रभावकारी वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले प्रस्तावित प्राप्ति प्रक्रिया अघि बढाइएको बैंकले जनाएको छ।
प्रारम्भिक सम्झौताअनुसार अब प्रस्तावित प्राप्तिसम्बन्धी आवश्यक विस्तृत अध्ययन तथा मूल्याङ्कन गरिनेछ। साथै, तीन वटै संस्थाको सम्पत्ति तथा दायित्वको यथार्थ परीक्षण (Due Diligence), शेयर आदान–प्रदानसम्बन्धी व्यवस्था तथा अन्य आवश्यक प्रक्रिया अघि बढाइनेछ।
तर, प्रस्तावित प्राप्ति प्रक्रिया तत्काल अन्तिम भने हुने छैन। नेपाल राष्ट्र बैंक तथा प्रचलित कानूनबमोजिम आवश्यक स्वीकृति र नियामकीय प्रक्रिया पूरा भएपछि मात्र प्राप्ति प्रक्रिया अन्तिम रूपमा कार्यान्वयन हुने जनाइएको छ।
तीन वटै संस्थाले प्रस्तावित प्रक्रियालाई पारदर्शी तथा व्यवस्थित रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, प्रचलित कानूनी तथा नियामकीय व्यवस्थाको पालना गर्दै सम्बन्धित सबै सरोकारवालाको हितलाई प्राथमिकतामा राखिने जनाइएको छ।
प्रस्तावित प्राप्ति सफलतापूर्वक सम्पन्न भएमा तीन वटै संस्थाको वित्तीय क्षमता, व्यवसायिक पहुँच तथा ग्राहकलाई प्रदान गरिने वित्तीय सेवामा थप विस्तार हुने अपेक्षा गरिएको छ।












प्रतिक्रिया