काठमाडौं ।
निजी क्षेत्रबाट स्थापना भएको नेपालकै पहिलो बाल अस्पतालका रूपमा परिचित ईशान बाल तथा महिला अस्पताल ३२औँ वर्षमा प्रवेश गरेको छ। अस्पतालले गत शुक्रबार ३१ वर्ष पूरा गरी ३२औँ वर्षमा प्रवेश गरेको हो। विगतका वर्षमा वार्षिकोत्सवका अवसरमा औपचारिक कार्यक्रम गर्दै आएको अस्पतालले यसपटक भने देशमा परेको विपत्तिलाई मध्यनजर गर्दै आफ्ना सबै औपचारिक कार्यक्रम स्थगित गरेको छ। वार्षिकोत्सवका लागि छुट्याइएको बजेटसमेत अस्पतालले भोटेकोशी बाढी प्रभावितको सहयोगका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेको छ। अस्पतालले कोषमा ५ लाख रुपैयाँ सहयोग गरेको हो।
अस्पतालका कार्यकारी निर्देशक प्राडा रामनन्दनप्रसाद चौधरीले भोटेकोशी बाढीबाट देश शोकमा रहेका बेला उत्सव मनाउनु उपयुक्त नलागेकाले कार्यक्रम स्थगित गरी उक्त रकम राहत कोषमा सहयोग गरेको बताए। ‘भोटेकोशीको महाविपत्तिपछि देश नै शोकमा छ । यस्तो बेलामा हामीले वार्षिकोत्सव मनाउने कुरा भएन,’ उनले भने, ‘त्यसैले त्यस दिन कुनै औपचारिक कार्यक्रम गरेनौँ । बरु वार्षिकोत्सवका लागि छुट्याइएको खर्च प्रधानमन्त्री राहत कोषमा डोनेसन गर्यौँ।’ अस्पतालले आर्थिक सहयोगमा मात्र आफ्नो सामाजिक उत्तरदायित्व सीमित नराखी बाढीबाट प्रत्यक्ष प्रभावित परिवारका बालबालिका तथा महिलालाई निःशुल्क उपचार गर्ने व्यवस्था समेत गरेको जनाएको छ।
बाढी आएको केही समयमै अस्पतालले सामाजिक उत्तरदायित्वअन्तर्गत प्रभावित परिवारका बालबालिका तथा महिला सदस्यलाई निःशुल्क उपचार गर्ने सार्वजनिक घोषणा गरेको थियो। ‘जब बाढी आयो, हामीले सामाजिक उत्तरदायित्वअन्तर्गत बाढीबाट प्रत्यक्ष प्रभावित परिवारका सदस्य (बाल तथा महिला)का लागि निःशुल्क उपचार गरिदिने सार्वजनिक रूपमा घोषणा गरेका थियौँ,’ डा. चौधरीले भने, ‘केहीले सम्पर्क गरे पनि अहिलेसम्म उपचारका लागि आउनुभएको छैन।’ मन्दिरमा पूजाआजा गरेर वार्षिकोत्सव अस्पतालले औपचारिक कार्यक्रम नगरे पनि केही कर्मचारी तथा सदस्यहरूले अस्पताल परिसरमा रहेको मन्दिरमा पूजाआजा गरी वार्षिकोत्सव मनाएका थिए।
देशमा आगामी दिनमा कुनै विपत्ति नआओस् र मुलुक तथा अस्पतालको प्रगति होस् भन्ने कामनासहित पूजाआजा गरिएको डा. चौधरीले बताए। ‘अस्पतालको साथै देशको भलो होस्, विपत्तिको चपेटामा मुलुक अब जानु नपरोस् भन्ने कामना गरेर हामीले पूजा गर्यौँ,’ उनले भने। बालबालिका तथा महिलाको उपचारलाई केन्द्रित गर्दै सेवा दिँदै आएको ईशान बाल तथा महिला अस्पतालले अत्याधुनिक उपकरण र दक्ष जनशक्तिमार्फत विभिन्न स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ। अस्पताल काठमाडौंको बसुन्धरा चोकबाट करिब २०० मिटर उत्तरतर्फ धापासीमा अवस्थित छ।












प्रतिक्रिया