तिब्बततर्फको बजार नखुल्दा लप्चीवासी चिन्तित

0
Shares

दोलखा । चीनको तिब्बतसँग सिमाना जोडिएको दोलखाको बिगु गाउँपालिका–१, लप्चीका स्थानीय यो वर्ष चौँरी व्यवसाय ठप्प भएपछि चिन्तित भएका छन् । हरेक वर्ष साउन अन्तिम साता लप्चीवासीको लागि तिब्बतको टाँसीघाङमा तीन–चार दिन बजार लाग्ने गरेकोमा यो वर्ष बजार नलाग्दा चौँरी तथा चौँरीबाट उत्पादित वस्तु बिक्री गर्न नसकिएको स्थानीय ७२ वर्षीय पेम्बाछिरी शेर्पाले बताए ।

‘हरेक वर्ष तिब्बतको टाँसीघाङमा केही दिन लाग्ने बजारमा चौँरी, चौँरीको घिउ, छुर्पीलगायतका वस्तु बिक्री गरेर त्यतैबाट एक वर्षको लागि आवश्यक पर्ने खाद्यान्न तथा लत्ताकपडाहरु ल्याउने गरेका थियौँ’, पेम्बाछिरीले भने– ‘तर यो वर्ष पशुमा रोग देखिएको भन्दै टाँसीघाङमा बजार नखोलेपछि आफ्नो उत्पादन बिक्री गर्न र आवश्यक सामग्री खरिद गर्न सकिएन ।’

केही समयअघि लप्ची घुम्न आएका दुई युवकले सीमापारि पुगेर ड्रोन उडाएको घटनापछि सीमा नाकामा कडाइ गरिएको र त्यसैको कारण पनि टाँसीघाङमा बजार नखुलाएको हुनसक्ने पेम्बाछिरीको अनुमान छ । अहिले लामाबगर क्षेत्रमा सञ्चालन भएका हाइड्रोपावरहरुको कारण सडक निर्माण भएकाले नेपाली बजारमै आवश्यक सामान खरिद गर्न सकिने अवस्था बनेको भए पनि चौँरी तथा चौँरीबाट उत्पादित वस्तुहरु नेपालमा बिक्री गर्न सकिने अवस्था भने नबनेकोले समस्या भएको लप्ची गाउँका अध्यक्ष गरा शेर्पाले बताए ।

‘हामीले नेपालमै सहज ढङ्गले चौँरी व्यवसाय गर्न सक्ने अवस्था भए तिब्बतपट्टि जानुपर्ने अवस्था हुँदैनथ्यो’, गरा शेर्पाले भने– ‘तर नेपालमा चौँरीहरु बिक्री गर्ने अवस्थै छैन ।’ तिब्बतको टाँसीघाङमा यो वर्ष बजार नखुल्दा लप्चीवासीले २ सय बढी चौँरी र चौँरीबाट उत्पादित घिउ, छुर्पीलगायतका उत्पादन बिक्री गर्न नसकिएको गरा शेर्पाको भनाइ छ ।

बिगु–१, लप्चीमा ४६ घरधुरी र झन्डै डेढ सय जनसंख्या रहेको छ । उनीहरुमध्ये चौँरी पालन गर्ने झन्डै १४ घरधुरी रहेको स्थानीय बताउँछन् । लप्चीका धेरै स्थानीय राजधानी काठमाडौँ र लामाबगर बस्ने भए पनि चौँरी व्यवसाय गर्नेहरु भने लप्चीमै बस्ने गरेका छन् ।

‘हाम्रो अन्य आयस्रोत छैन । चौँरीपालन नै एकमात्र व्यवसाय हो’, पेम्बाछिरीले भने– ‘चौँरी तथा यसबाट उत्पादित वस्तु बिक्री गर्न सकिएन भने हामी भोकभोकै बस्नुपर्ने हुन्छ ।’ तिब्बतसँगको सिमा नाका सहज गर्न र टाँसीघाङ बजारसम्म पहुँच विस्तार गर्न नेपाल सरकारले चीन सरकारसँग छलफल गरिदिनुपर्ने गाउँका अध्यक्षसमेत रहेका लप्चीका स्थानीय गरा शेर्पाको भनाइ छ ।