भोटेकोशी बाढीपीडितका लागि छिमेक लघुवित्तद्वारा ४१ लाख बढी सहयोग


काठमाडौं।

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले ४१ लाख ३९ हजार ७५२ रुपैयाँ सहयोग गरेको छ।

संस्थाका अनुसार उक्त रकममध्ये ३० लाख रुपैयाँ संस्थाको तर्फबाट र ११ लाख ३९ हजार ७५२ रुपैयाँ कर्मचारीबाट संकलन गरिएको हो। सम्पूर्ण रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको संस्थाले जनाएको छ।

भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवनलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको भन्दै छिमेक लघुवित्तले विपद्प्रति दुःख व्यक्त गरेको छ।

संस्थाले बाढी तथा विपद्मा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा सम्पर्कविहीन र बेपत्ता भएकाहरूको सकुशल उद्धारको कामना गरेको छ।

विपद्को कठिन समयमा सरकारको राहत तथा उद्धार अभियानमा सहयोग पुर्‍याउने उद्देश्यले आर्थिक सहयोग गरिएको संस्थाले जनाएको छ।

छिमेक लघुवित्तले प्रभावित नागरिक, सदस्य तथा कर्मचारी र उनीहरूका परिवारको साथमा रहेको जनाउँदै विपद्को समयमा एकअर्कालाई सहयोग र सहकार्य गर्दै अघि बढ्न आग्रहसमेत गरेको छ।