चितवन ।
भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका आफन्तको पहिचानका लागि चितवनमा डीएनए नमुना संकलन सुरु गरिएको छ। बाढीपछि त्रिशूली र नारायणी नदीमा बगेका तथा चितवनका विभिन्न स्थानमा फेला परेका पहिचान नखुलेका शवसँग मिलान गर्न बेपत्ता व्यक्तिका आफन्तबाट नमुना लिन थालिएको हो।
मंगलबारदेखि सुरु भएको नमुना संकलनमा हालसम्म ३३ जनाले रगतको नमुना दिएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नमुना दिनेमा दुई महिला र ३१ पुरुष छन्। तीमध्ये दुईजना भारतीय नागरिक रहेका छन्।
बाढी प्रभावित क्षेत्रमा रेन्जर पोस्टमा कार्यरत छोरी निलम कार्की सम्पर्कविहीन भएपछि पाल्पाबाट उनकी आमासमेत चितवन आएर नमुना दिएकी छन्। त्यस्तै, हाइड्रोपावरमा इन्जिनियरका रूपमा कार्यरत छोरा बेपत्ता भएपछि एक बाबु दुई छोरीसहित चितवन आएर डीएनए परीक्षणका लागि नमुना दिएका छन्।
भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि त्रिशूली हुँदै नारायणी नदीसम्म बगेका शव चितवनका विभिन्न स्थानमा फेला परेका थिए। केही शवको पहिचान खुल्न नसकेपछि बेपत्ता व्यक्तिका आफन्तको डीएनए नमुना लिएर शवसँग मिलान गर्न लागिएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला इकाई चितवन र जनस्वास्थ्य कार्यालय भरतपुरको सहकार्यमा नमुना संकलन गरिरहेको छ। भरतपुर महानगरपालिका–१० स्थित चितवन उद्योग संघको परिसरमा बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म नमुना संकलन भइरहेको छ।
सम्पर्कविहीन व्यक्तिका बुबा, आमा, छोरा वा छोरीमध्ये उपलब्ध एकजनाबाट रगतको नमुना लिने व्यवस्था गरिएको छ। संकलित नमुना प्रयोगशालामा परीक्षण गरी पहिचान नखुलेका शवको डीएनए नमुनासँग मिलान गरिनेछ।
प्रहरीका अनुसार डीएनए परीक्षणको रिपोर्ट आउन कम्तीमा १२ साता लाग्नेछ। बाढीपछि लामो समयदेखि आफन्तको अवस्थाबारे अनभिज्ञ रहेका परिवारका लागि डीएनए परीक्षण नै आफ्नो मान्छेको पहिचान गर्ने अन्तिम आधार बनेको छ।












प्रतिक्रिया