तिब्बत पट्टी बजार नखुल्दा लप्चीवासी चिन्तित

0
Shares

दोलखा।

चीनको तिब्बतसंग सिमाना जोडिएको दोलखाको विगु गाउँपालिका वडा नम्बर– १ लप्चीका स्थानीय यो वर्ष चौरी व्यवसाय ठप्प भएपछि चिन्तित भएका छन् । हरेक वर्ष साउन अन्तिम साता लप्ची बासिको लागि तिब्बतको टाँसीघाङमा ३-४ दिन बजार लाग्ने गरेकोमा यो वर्ष बजार नलाग्दा चौरी तथा चौरीबाट उत्पादीत बस्तु बिक्री गर्न नसकिएको स्थानीय ७२ बर्षिय पेम्बाछिरी शेर्पाले बताए ।

हामी हरेक वर्ष तिब्बतको टाँसीघाङमा ३-४ दिन लाग्ने बजारमा चौरी, चौरीको घ्यु, छुर्पी लगायतका वस्तुहरु बिक्री गरेर त्यतैबाट एक बर्षको लागि आवश्यक पर्ने खाद्यान्न तथा लताकपडाहरु ल्याउने गरेका थियौ, पेम्बाछिरीले भने– तर यो वर्ष पशुमा रोग देखिएको भन्दै टाँसीघाङमा बजार नखोले पछि आफ्नो उत्पादन बिक्री गर्न र आवश्यक सामग्री खरीद गर्न सकिएन ।

केही समय अघि लप्ची घुम्न आएका दुई युवकले सिमा पारी पुगेर ड्रोन उडाएको घट्नापछि सिमानाकामा कडाई गरिएको र त्यसैको कारण पनि टाँसीघाङमा बजार नखुलाएको हुनसक्ने पेम्बाछिरीको अनुमान छ ।

अहिले लामाबगर क्षेत्रमा सञ्चालन भएका हाईड्रोपावरहरु को कारण सडक निर्माण भएकाले नेपाली बजारमै आवश्यक सामान खरीद गर्न सकिने अवस्था बनेको भएपनि चौरी तथा चौरीबाट उत्पादीत वस्तुहरु नेपालमा बिक्री गर्न सकिने अवस्था भने नबनेकोले समस्या भएको लप्ची गाउँका अध्यक्ष गरा शेर्पाले बताए । 

हामीले नेपालमै सहज ढङ्गले चौरी व्यवसाय गर्नसक्ने अवस्था भए तिब्बत पट्टी जानुपर्ने अवस्था हुँदैन थियो, गरा शेर्पाले भने– तर नेपालमा चौरीहरु बिक्री गर्ने अवस्थै छैन । तिब्बतको टाँसीघाङमा यो वर्ष बजार नखुल्दा लप्ची बासिले दुई सय बढी चौरी तथा चौरीबाट उत्पादीत घ्यु, छुर्पी लगायतका उत्पादन बिक्री गर्न नसकिएको गरा शेर्पाको भनाई छ । 

विगुको वडा नम्बर– १ लप्चीमा ४६ घरधुरी र झण्डै एक सय ५० जनसंख्या रहेको छ । उनीहरु मध्य चौरी पालन गर्ने झण्डै १४ घरधुरी रहेको स्थानीय बताउछन् । लप्चीका धेरै स्थानीय राजधानि काठमाडौँ र लामाबगर बस्ने भएपनि चौरी व्यवसाय गर्नेहरु भने लप्चीमै बस्ने गरेका छन् । 

हाम्रो अन्य आयस्रोत छैन । चौरीपालन नै एकमात्र व्यवसाय हो, पेम्बाछिरीले भने– चौरी तथा चौरीबाट उत्पादीत वस्तु बिक्री गर्न सकिएन भने हामी भोक– भोकै वस्नुपर्ने हुन्छ । तिब्बतसंगको सिमानाका सहज गर्न र टाँसीघाङ बजारसम्म पहुँच विस्तार गर्न नेपाल सरकारले चीन सरकारसंग छलफल गरिदिनुपर्ने गाउँको अध्यक्ष समेत रहेका लप्चीका स्थानीय गरा शेर्पाको भनाई छ ।