बाढीपीडितका लागि इन्फिनिटी लघुवित्तको ७ लाख १७ हजार सहयोग


काठमाडौं।

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले ७ लाख १७ हजार ३ सय ४८ रुपैयाँ सहयोग गरेको छ।

संस्था र कर्मचारीहरूको तर्फबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिएको हो। भदौ १० गते भोटेकोशी नदीमा आएको आकस्मिक बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएपछि राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले रकम प्रदान गरिएको संस्थाले जनाएको छ।

नेपाल सरकारको राहत तथा उद्धार अभियानमा सहयोग पुर्‍याउने उद्देश्यले संस्था र कर्मचारीको सहभागितामा रकम संकलन गरी कोषमा उपलब्ध गराइएको हो।

इन्फिनिटी लघुवित्तले बाढीका कारण ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ। साथै, विपद्का कारण सम्पर्कविहीन भएका सर्वसाधारण तथा विभिन्न बैंक तथा वित्तीय संस्था र संघसंस्थामा कार्यरत कर्मचारी तथा उनीहरूका परिवारप्रति सहानुभूति व्यक्त गरेको छ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत ज्ञानीश्वर पन्तले विपद्को समयमा प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्‍याउनु संस्थाको सामाजिक दायित्व भएको बताएका छन्।