पोखरा।
भोटेकोशी बाढीमा परि मृत्यु भएका मध्ये १०२ शव पोखरा ल्याइयो । ती मध्ये १९ वटा शवको मात्रै पहिचान हुन सक्यो र आफन्तलाई बुझाइयो । ७ वटा शव पहिचानका लागि आउने सम्पर्क गरेपछि अस्पतालमै राखिएको छ भने ७६ वटा शव गाडिएको छ ।
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले पुर्याएको क्षतिको कुनै लेखाजोखा छैन । कतिको मृत्यु भयो भन्ने यकिन तथ्याङ्क समेत छैन । धादिङदेखी नवलपरासी पश्चिमसम्म भेटिएका शव मध्ये १०२ वटा शव पोखरा ल्याइएका थिए । त्यति शव राख्ने उचित शव गृह नहुँदा शवहरु कुहिन थालेका छन् भने दुर्गन्ध समेत उत्तिकै आउन थालेको थियो ।
शव गृह अभावकै कारण गोरखाबाट ११, धादिङबाट २७, पूर्वी नवलपरासीबाट ४१ र तनहुँबाट २३ गरी १०२ शव पोखरा ल्याइएको हो। पोखरा महानगरपालिका १६ मा शव व्यवस्थापन गरेकै अवस्थामा लास नम्बर बिकेडि २७ हेर्न अर्घाखाँची र धादिङका त्यहाँ पुगेका थिए । अनुहार लगायत सबै मिलेपनी हत्केलाबाट पहिचान गर्न सकिने देखिए पनी हत्केला पहिचानको अवस्थामा थिएन ।
विधि विज्ञान प्रयोगशाला काठमाडौंका फरेन्सिक डिएनए विज्ञ विनोद न्यौपानेका अनुसार बाढी पहिरो र जलेका शवको परीक्षण गर्न निकै कठिन हुने गर्दछ ।

गाडिएका ती शवको डिएनएका लागि नमुना सङ्कलन गरि राखिएको छ भने शव गाडिएको स्थानमा ट्याग लगाइएको छ । पछि आफन्तको डिएनए मिलेमा शव कहाँ राखिएको छ भन्ने पत्ता लाग्ने छ । हाल शवमा समेत धेरैको दाबी हुदा डिएनएका लागि नमुना सङ्कलन गरिएको छ । तर नमुनाको रिपोर्ट आउन भने समय लाग्ने उनको भनाइ छ ।
“आफन्तको डिएनए परीक्षणका लागि निवेदन दिनुपर्छ, रगतबाट गर्न सहज हुन्छ तर विपदमा परेर ज्यान गुमाएका नागरिकहरुको डिएनए निकाल्ने भनेको हड्डी र दाँतबाट गर्ने हो । त्यसलाई रगत बनाउन कठिन हुन्छ । यो केशमा अघिपछी पनि समयलाग्छ चारमहिना सम्म पनि अहिले त झन गाह्रो छ हामी सकेको छिटो गर्छौ” उनले भने, “बाहिरबाट पनि विज्ञहरु आउनुभएको छ उहाँहरुको सहयोगमा हेरौ छिटो हुन्छ कि । अहिले सबै शवको डिएनए परीक्षण गर्ने र दाबी गर्नेहरुमा छोरा, छोरी वा बुबा आमाको परीक्षण गरिन्छ त्यो भन्दा उता जान परे काका लगायतको पनि परीक्षण हुन्छ ।”
शवहरु अहिले शव गृहमा राख्न सक्ने स्थिति नभएको पिडित बताउँछन । आफ्ना आफन्तको शव पहिचान गर्न गोर्खाबाट आएका जमिल मियाले कानुनले नै ४५ दिन सम्म शव राख्ने व्यवस्था गरेको सुनाए ।
भाइको शव खोज्न बर्दियादेखि पोखरासम्म आइपुगेकी मञ्जी थारुले शव पटक-पटक नियाल्दा शवको ओठ, निधार, कान र दाँत भाइसँग मिलेको बताइन्। शव चिनेको दाबी गर्दै लैजान खोज्दा भने अर्को परिवारले पनि सोही शवमाथि दाबी गरेपछि उनले शव लिन पाइनन् ।
उक्त शवमाथि रसुवाको बाढीमा बेपत्ता भएका भाइको खोजीमा तिलोत्तमा नगरपालिका-९, रुपन्देहीका राधेश्याम शर्मा बस्यालले पनि कद-काठी र दाँतका आधारमा उही शव आफ्नो भाइको भएको दाबी गरे ।
दाबी गर्ने परिवारका नजिकका सदस्यको रगतको नमुना सङ्कलन गरी डीएनए परीक्षणका लागि पठाउन थालिएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी दिपक प्रसाद रिजालले बताए ।
कास्की जिल्लाका सहायक जिल्ला अधिकारीले सुरक्षित तरिकाले शव व्यवस्थापन गरेको जानकारी दिए । उनले १९ शव आफन्तलाई बुझाएको र अन्य शव गाड्ने तयारीमा रहेपनी दिउँसो ७ वटा शव पुनः पहिचानका लागि आउने भनी सम्पर्कमा आएका कारण तत्काललाई शव गृहमै राखिएको सुनाए ।












प्रतिक्रिया