हेटौंडा काठमाडौं यात्रामा नयाँ व्यवस्था


हेटौंडा ।

पृथ्वी राजमार्गअन्तर्गत धादिङ जिल्लाका केही क्षेत्रमा सडक अवरुद्ध भएसँगै वैकल्पिक मार्गमा सवारीसाधनको चाप बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले सवारी आवागमनलाई व्यवस्थित बनाउन नयाँ व्यवस्था लागु गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले आइतबार सूचना जारी गर्दै यात्रुको सुरक्षा, सडकको क्षमता तथा आवागमनको सहजतालाई ध्यानमा राखेर विभिन्न प्रकारका सवारीसाधनका लागि छुट्टाछुट्टै मार्ग निर्धारण गरिएको जनाएको हो । प्रशासनका अनुसार १० चक्काभन्दा बढी क्षमताका सम्पूर्ण मालबाहक तथा ठूला यात्रुबाहक सवारीसाधनले काठमाडौं जाँदा त्रिभुवन राजपथ प्रयोग गर्नुपर्नेछ भने फर्किने क्रममा कान्तिराजपथ प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ ।

मौसम तथा सडकको अवस्थालाई मध्यनजर गर्दै कान्तिलोकपथ हुँदै हेटौंडा आउने यात्रुबाहक सवारीसाधनले साँझ ६ बजेसम्म मकवानपुरको इलाका प्रहरी कार्यालय ठिंगन चेकपोष्ट पार गरिसक्नुपर्ने जनाइएको छ । तोकिएको समयपछि उक्त मार्गमा सवारी सञ्चालन गर्न नपाइने प्रशासनले स्पष्ट पारेको छ ।
१४ सिटभन्दा कम क्षमताका साना यात्रुबाहक सवारीसाधनका लागि पनि वैकल्पिक मार्ग निर्धारण गरिएको छ । हेटौंडातर्फ आउँदा फापरबारी–फाखेल–कुलेखानी हुँदै भीमफेदीतर्फ आउने र काठमाडौं जाँदा भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली मार्ग प्रयोग गर्नुपर्ने व्यवस्था मिलाइएको प्रशासनले जनाएको छ ।

धादिङ क्षेत्रमा सडक अवरुद्ध भएपछि हेटौंडा हुँदै काठमाडौं तथा अन्य जिल्लातर्फ आवागमन गर्ने सवारीसाधनको संख्या उल्लेख्य बढेको छ । यसले वैकल्पिक सडकमा चाप बढाएको भन्दै प्रशासनले सबै चालक तथा यात्रुलाई निर्धारित मार्ग र निर्देशनको पालना गर्न आग्रह गरेको छ ।
उता, रसुवाको भोटेकोशी बाढीमा ज्यान गुमाएका व्यक्तिका परिवारलाई प्रतिमृतक २५ हजार रुपियाँ राहत दिइने भएको छ । रसुवा र नुवाकोटलाई १–१ करोड तथा धादिङ र चितवनलाई ५०–५० लाख गरी प्रभावित जिल्लाका स्थानीय विपद् व्यवस्थापन कोषमा कुल ३ करोड रुपियाँ उपलब्ध गराइने बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले बताउनुभएको छ ।

घरबारविहीनलाई अस्थायी बसोबास र भोजन तथा सनाखत भएका शव घरसम्म पु¥याउने खर्चसमेत प्रदेश सरकारले व्यहोर्नेछ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनस्र्थापनामा सहयोग पु¥याउन नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले ५ लाख ५५ हजार ५ सय ५५ रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ । कांग्रेस बागमती प्रदेश कार्यसमितिका तर्फबाट उक्त रकम नेपाली कांग्रेस विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको हो । कांग्रेसले उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सहयोग पुग्ने गरी उपलब्ध गराउने जनाएको छ ।

बैठकले भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति भएको तथा चितवन, गोरखा, तनहुँ र नवलपरासीसमेत प्रभावित बनेको भन्दै बेपत्ता नागरिकको खोजी तथा उद्धारलाई तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ । प्रदेश सरकारमातहतका अस्पतालमा उपचाररत घाइतेको निःशुल्क उपचार, बिरामी तथा कुरुवाको व्यवस्थापन र खानाको व्यवस्था गर्न तथा दीर्घरोगीका लागि उपलब्ध गराइँदै आएका निःशुल्क औषधिको अभाव हुन नदिनसमेत ध्यानाकर्षण गराइएको छ ।

बाढीप्रभावित क्षेत्रमा पार्टीको प्रदेशदेखि वडा र टोल तहसम्मको संरचना परिचालन गर्ने निर्णय गर्दै उद्धार, राहत र पुनस्र्थापनामा सरकारी निकायसँग समन्वय गर्न प्रदेश प्रवक्ता तिलकप्रसाद रुवालीको संयोजकत्वमा समन्वय समिति गठन गरिएको छ । समितिले रसुवा, नुवाकोट, धादिङ र चितवनका प्रदेश कार्यसमिति तथा सम्बन्धित जिल्ला सभापतिसँग समन्वय गरी आवश्यक काम अघि बढाउनेछ । बाढीका कारण प्रभावित क्षेत्रमा आवतजावत सहज बनाउन बैकल्पिक सडक, झोलुङ्गे पुल र बेलीब्रिज निर्माण तत्काल अघि बढाउन तथा घरबारविहीन परिवारका लागि अस्थायी र स्थायी पुनर्वासको व्यवस्था गर्न कांग्रेसले प्रदेश सरकारसँग आग्रह गरेको छ ।

आर्थिक वर्ष २०८३-०८४ को बजेटमा समावेश १ हजार घर निर्माण तथा आयआर्जनका लागि सीप, प्रविधि र वीउपुँजी हस्तान्तरण कार्यक्रमलाई बाढीपीडितको पुनस्र्थापनामा केन्द्रित गर्न माग गरिएको छ । बाढीप्रभावितलाई मनहरी गाउँपालिकाले १० लाख सहयोग गर्दा अध्यक्षले तीन महिनाको सेवासुबिधा दिने भएका छन् ।

रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौंडामा राहत सामग्री संकलन भएको छ । विभिन्न व्यक्ति, समूह तथा समुदायको सहभागितामा खाद्यान्नलगायत आवश्यक सामग्री संकलन गरिएको हो । मकवानपुर क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रकाश गौतमले राहत संकलन कार्य सञ्चालन भएको जानकारी दिनुभयो । संकलित राहत सामग्री नुवाकोट लगिएको उहाँले बताउनुभयो ।

विपद्मा परेका परिवारको पीडामा केही राहत पु¥याउने उद्धेश्यले स्वेच्छिकरुपमा खाद्यान्न, चाउचाउ, बिस्कुट, कपडालगायत सामग्री सहयोग भएको गौतमले बताउनुभयो । उहाँले विपद्को समयमा मानवीय सहयोग र एकताको आवश्यक रहेको बताउनुभयो ।