काठमाडौं।
रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका लागि सिटी एक्सप्रेस ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ।
प्राकृतिक विपद्का कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवनलगायतका जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएपछि प्रभावित नागरिक र समुदायको सहयोगका लागि सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम कोषमा जम्मा गरिएको कम्पनीले जनाएको छ।
बाढीका कारण प्रभावित क्षेत्रमा नागरिकको दैनिक जीवनसमेत प्रभावित भइरहेका बेला राहत तथा पुनःस्थापनाका लागि सहयोग गरिएको कम्पनीको भनाइ छ।
यसैबीच, सिटी एक्सप्रेस मनी ट्रान्सफरले बाढी आएको दिनदेखि विदेशबाट नेपाल पैसा पठाउँदा लाग्ने सेवा शुल्क पूर्ण रूपमा मिनाहा गरेको जनाएको छ। विदेशमा रहेका नेपालीले आफ्ना परिवारलाई सहज र छिटो रकम पठाउन सकून् भन्ने उद्देश्यले सेवा शुल्क मिनाहा गरिएको कम्पनीले जनाएको हो।
कम्पनीले विनाशकारी बाढीमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ। साथै, उद्धार, राहत तथा पुनःस्थापनामा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा सम्बन्धित निकायप्रति आभार व्यक्त गरेको छ।
सिटी एक्सप्रेस मनी ट्रान्सफरले विगत २० वर्षदेखि विश्वका विभिन्न मुलुकबाट नेपालमा विप्रेषण सेवा प्रदान गर्दै आएको जनाएको छ।












प्रतिक्रिया