राष्ट्रिय विपद्मा शंकर ग्रुपको ४ करोड सहयोग


काठमाडौं।

विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि शंकर ग्रुपले प्रधानमन्त्री राहत कोषमा ४ करोड रुपैयाँ सहयोग गरेको छ।

शंकर ग्रुपका निर्देशक दीपा अग्रवाल तथा वरिष्ठ व्यवस्थापन टोलीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटेर ४ करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।

यसअघि पनि शंकर ग्रुपले विपद्पीडितका लागि २५ लाख रुपैयाँ बराबरका २ हजार ५०० थान टार्पोलिन टेन्ट उपलब्ध गराएको जनाएको छ। गृह मन्त्रालयसँगको समन्वयमा भैरहवाका प्रमुख जिल्ला अधिकारीमार्फत विस्थापित नागरिकको अस्थायी आश्रयका लागि टेन्ट उपलब्ध गराइएको हो।

विपद्का कारण ठूलो जनधनको क्षति भएपछि प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट सहयोग जुटिरहेको छ। शंकर ग्रुपले पनि राष्ट्रिय संकटका बेला सरकार र नागरिकसँग सहकार्य गर्नु आफ्नो दायित्व भएको जनाएको छ।

ग्रुपले विपद्मा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ। साथै, सम्पर्कविहीन रहेका नागरिक सकुशल भेटिने अपेक्षा व्यक्त गर्दै उद्धार तथा राहत कार्यमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वयंसेवक तथा सरकारी अधिकारीप्रति आभार व्यक्त गरेको छ।

शंकर ग्रुपले आगामी दिनमा पनि विपद्पीडित नागरिकको राहत तथा पुनःस्थापनामा आवश्यक सहयोग जारी राख्ने प्रतिबद्धता जनाएको छ।