काठमाडौं।
रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार र पुनःस्थापनाका लागि सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले १ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ।
कम्पनीले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी सहयोग गरेको हो। सिटिजन लाइफका अध्यक्ष प्रदीप जङ्ग पाण्डे, प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल तथा नायब प्रमुख कार्यकारी अधिकृत एवं कम्पनी सचिव दिप बहादुर बि.सी.ले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन्।
कम्पनीका अनुसार सहयोग रकममध्ये सिटिजन लाइफका ‘सिटिजन लिडर्स’बाट १८ लाख ६७ हजार रुपैयाँ र कर्मचारीबाट २१ लाख ३३ हजार रुपैयाँ योगदान रहेको छ। बाँकी रकम कम्पनीको तर्फबाट प्रदान गरिएको हो।
चीनको तिब्बत क्षेत्रबाट आएको आकस्मिक बाढीका कारण रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। बाढी तथा पहिरोबाट प्रभावित परिवार उद्धार, राहत र पुनःस्थापनाको पर्खाइमा रहेका बेला कम्पनीले राहत कोषमा आर्थिक सहयोग गरेको हो।
कम्पनीले विपद्मा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सम्पर्कविहीन व्यक्तिहरू सकुशल भेटिने अपेक्षा पनि कम्पनीले जनाएको छ।
यसैबीच, सिटिजन लाइफले बाढीबाट प्रभावित आफ्ना बीमित तथा उनीहरूका परिवारको अवस्थाबारे जानकारी लिन प्रभावित क्षेत्रका अभिकर्ता र कर्मचारीलाई परिचालन गरेको जनाएको छ। प्रभावित बीमित वा परिवारबाट बीमा दाबीसम्बन्धी आवश्यकता आएमा प्रक्रिया सहज र छिटो बनाउन आवश्यक सहजीकरण गर्ने कम्पनीले जनाएको छ।
कम्पनीले विपद्को समयमा उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्थानीय तह, स्वयंसेवक तथा अन्य उद्धारकर्मीप्रति सम्मान व्यक्त गर्दै प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनःस्थापनाका लागि आवश्यक सहयोग जारी राख्ने जनाएको छ।












प्रतिक्रिया