काठमाडौं।
रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले २५ लाख रुपैयाँ सहयोग गरेको छ।
कम्पनीका अध्यक्ष सुहृद् घिमिरे, कार्यकारी उपाध्यक्ष रेखा घिमिरे तथा निर्देशक अदिती घिमिरेसहितको टोलीले अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री स्वर्णिम वाग्लेलाई २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो।
कम्पनीले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी सहयोग गरेको जनाएको छ। रसुवाको भोटेकोशीमा आएको बाढी तथा पहिरोका कारण रसुवासहित नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएपछि प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनःस्थापनाको आवश्यकता बढेको छ।
बाढी र पहिरोका कारण घर तथा सम्पत्तिसँगै सडक, पुललगायतका भौतिक पूर्वाधारमा समेत क्षति पुगेको छ। विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सरकार र विभिन्न निकाय सक्रिय रहेका छन्।
चेक हस्तान्तरण गर्दै कम्पनीका प्रतिनिधिले विपद्मा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्। उनीहरूले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन्।
कम्पनीले प्राकृतिक विपद्को समयमा प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग गर्नु निजी क्षेत्रको सामाजिक दायित्व भएको जनाएको छ। आगामी दिनमा पनि आवश्यकता र आफ्नो क्षमताअनुसार मानवीय सहायता तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने कम्पनीले जनाएको छ।












प्रतिक्रिया