नेपालगञ्ज।
बाढी तथा विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि श्री मदन बाबा भक्ति केन्द्रले ३ लाख ४० हजार रुपैयाँ सहयोग गरेको छ।
केन्द्रले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख रुपैयाँ जम्मा गरेको जनाएको छ। विपद्मा परेका नागरिक तथा परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले उक्त रकम सहयोग गरिएको केन्द्रकी केन्द्रीय अध्यक्ष शारदा तिवारीले जानकारी दिनुभयो।
केन्द्रका अनुसार उक्त सहयोग सद्गुरुदेव श्री मदन बाबा ज्यूको सदिच्छाअनुसार भक्ति केन्द्रसँग आबद्ध सदस्य तथा परिवारको सहयोगमा जुटाइएको हो।
यसैबीच, रसुवास्थित चाइना हाइड्रो पावर ड्याम साइटमा कार्यरत बर्दियाको बारबर्दिया–१, जमुनियाका आशिषकुमार थारु बाढीपछि सम्पर्कविहीन रहेकाले उहाँको खोजीका लागि केन्द्रले ४० हजार रुपैयाँ सहयोग गरेको जनाएको छ।
केन्द्रका अनुसार कैलाली घर भई हाल रसुवामा रहेको एनएमबी बैंकमा कार्यरत सुवास रावलसमेत सम्पर्कविहीन छन्। थारु र रावलसहित विपद्का कारण सम्पर्कविहीन भएका सम्पूर्ण व्यक्तिको खोजी तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन केन्द्रले सम्बन्धित निकायसँग आग्रह गरेको छ।
भक्ति केन्द्रले विपद्को कठिन अवस्थामा प्रभावित नागरिकको राहत, उद्धार तथा खोजी कार्यमा आवश्यक सहयोग र समन्वयलाई निरन्तरता दिने जनाएको छ।












प्रतिक्रिया