सिन्धुपाल्चोक ।
भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भोटेकोशी गाउँपालिकाका बेपत्ता भएका ७३ जना र मृत्यु भएका एक जनाका परिवारलाई आर्थिक राहत उपलब्ध गराउने भएको छ।
गाउँपालिकाले प्रत्येक परिवारलाई २ लाख रुपैयाँका दरले राहत दिने निर्णय गरेको हो। गाउँ कार्यपालिका अध्यक्ष पासाङ नुर्बु शेर्पाको अध्यक्षतामा भदौ १५ गते बसेको आकस्मिक बैठकले विपद् व्यवस्थापन कोषबाट रकम उपलब्ध गराउने निर्णय गरेको गाउँपालिकाले जनाएको छ।
राहत रकम बाढीमा ज्यान गुमाएका तथा बेपत्ता व्यक्तिका संरक्षक, अभिभावक वा परिवारका मुख्य सदस्यको बैंक खातामार्फत उपलब्ध गराइनेछ।
बाढी र पहिरोका कारण सडक तथा पुलमा क्षति पुगेर आवागमन प्रभावित भएपछि जोखिममा रहेका नागरिकको खोजी तथा उद्धारका लागि आवश्यकताअनुसार हेलिकोप्टरलगायत हवाई साधन प्रयोग गर्ने निर्णय पनि गाउँपालिकाले गरेको छ।
उद्धार तथा राहतका लागि स्थानीय प्रशासन, सुरक्षा निकाय र अन्य सम्बन्धित सरकारी निकायसँग आवश्यक समन्वय गरिने गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक दाहालका अनुसार बाढीबाट प्रभावित तथा सम्पर्कविहीन नागरिकको विवरण वडा कार्यालयमार्फत संकलन गरिएको छ। प्रभावित परिवारलाई खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्री उपलब्ध गराउन विभिन्न निकायसँग समन्वय भइरहेको उनले बताए।
खोजी तथा उद्धारदेखि घाइतेको उपचार, सुरक्षित स्थानमा स्थानान्तरण र पुनःस्थापनासम्म आवश्यक पर्ने खर्च गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट व्यहोर्ने निर्णयसमेत गरिएको छ।
बाढीपीडितलाई सहयोग गर्न चाहने व्यक्ति, संघसंस्था तथा दातालाई गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा आर्थिक सहयोग गर्न आह्वान गर्ने निर्णय पनि बैठकले गरेको छ।
यसैगरी बैठकले ‘विपद् व्यवस्थापन कोष सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८०’ लाई पहिलो संशोधन गरी २०८३ मा लागू गर्ने निर्णय गरेको छ।
गाउँपालिकाले बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, बेपत्ता तथा प्रभावित परिवारप्रति समवेदना प्रकट गरेको छ।












प्रतिक्रिया