काठमाडौं ।
चौधरी फाउन्डेसन र नबिल बैंकले रसुवा र नुवाकोटका बाढी प्रभावित समुदायका लागि करिब १५ करोड रुपैयाँ लागतको बहुचरणीय राहत तथा पुनर्स्थापना कार्यक्रम घोषणा गरेका छन् ।
भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारलाई तत्काल राहतदेखि अस्थायी आवास, स्थायी पुनर्स्थापना र दीर्घकालीन जनस्वास्थ्य सेवासम्म सहयोग गर्ने उद्देश्यले कार्यक्रम अघि बढाइएको हो ।
कार्यक्रमको पहिलो चरणमा प्रभावित परिवारलाई खाद्यान्न, तयार खाना, खानेपानी, बिस्कुट, लत्ताकपडा, तिरपाल तथा व्यक्तिगत सरसफाइका सामग्री वितरण भइरहेको छ । आवश्यक खोप तथा स्वास्थ्य सामग्रीसमेत उपलब्ध गराइने फाउन्डेसन र बैंकले जनाएको छ । राहत सामग्री भदौ ११ गतेदेखि प्रभावित क्षेत्रमा पुर्याउन थालिएको हो ।
स्थानीय प्रशासनसँगको सहकार्यमा रसुवा र नुवाकोटमा एक–एक वटा व्यवस्थित राहत शिविर स्थापना गरिने भएको छ । ती शिविरमा प्रभावित नागरिकलाई दैनिक भोजनका साथै प्राथमिक स्वास्थ्य सेवा, स्वच्छ खानेपानी र सरसफाइको व्यवस्था गरिनेछ । बालबालिकाका लागि सुरक्षित स्थानसमेत उपलब्ध गराइने जनाइएको छ ।
चौधरी फाउन्डेसन र नबिल बैंकले धुलिखेल अस्पतालसँगको सहकार्यमा प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गर्ने भएका छन् । स्वास्थ्य शिविरमार्फत प्राथमिक उपचार तथा बाढीपछि फैलिन सक्ने रोगको रोकथाममा आवश्यक सेवा प्रदान गरिनेछ ।
त्यस्तै, बाढीका कारण घर पूर्ण रूपमा क्षतिग्रस्त भएका वा बस्न अयोग्य भएका परिवारका लागि ५०० वटा अस्थायी आवास एकाइ निर्माण गरिने भएको छ । स्थायी पुनर्निर्माण सम्पन्न नहुँदासम्म प्रभावित परिवारलाई सुरक्षित र व्यवस्थित आवास उपलब्ध गराउने उद्देश्यले सरकार तथा स्थानीय तहसँगको सहकार्यमा आवास निर्माण गरिनेछ ।
पुनर्स्थापनाको अर्को चरणमा प्रभावित समुदायका लागि स्थायी आवास तथा आवश्यक सामुदायिक पूर्वाधार निर्माणमा समेत सहयोग गर्ने योजना रहेको छ । दीर्घकालीन रूपमा धुलिखेल अस्पतालसँगको सहकार्यमा संक्रामक रोग रोकथाम तथा नियन्त्रण केन्द्र स्थापना गर्ने योजना पनि फाउन्डेसन र बैंकले अघि सारेका छन् ।
उक्त केन्द्रमार्फत रोगको निगरानी तथा पहिचान, रोकथाममूलक स्वास्थ्य सेवा, जनचेतना अभिवृद्धि तथा बाढी र अन्य विपद्पछि फैलिन सक्ने संक्रामक रोगको व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
चौधरी फाउन्डेसन तथा नबिल बैंकका अध्यक्ष निर्वाण चौधरीले राहत र उद्धारमा मात्र सीमित नभई प्रभावित परिवारलाई सुरक्षित आवास, स्वास्थ्य सेवा र दीर्घकालीन पुनर्स्थापनासम्म सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले प्रभावित परिवारलाई खाना, आवास र स्वास्थ्य सेवा उपलब्ध गराउनु तत्कालको प्राथमिकता भए पनि आपत्कालीन राहतपछि स्थायी पुनर्स्थापना र जनस्वास्थ्य तयारीसम्मको यात्रामा समेत संस्थाहरू प्रतिबद्ध रहेको बताएका छन् ।
फाउन्डेसन र बैंकले नेपाल सरकार, स्थानीय प्रशासन, सुरक्षा निकाय, स्वास्थ्यकर्मी, सामुदायिक संस्था तथा स्वयंसेवकसँग समन्वय गरी सबैभन्दा बढी प्रभावित तथा जोखिममा रहेका परिवारसम्म राहत तथा सहायता पुर्याउने जनाएको छ ।











प्रतिक्रिया