धुलिखेल।
भुकम्प, कोभिड महामारी, बाढी पहिरो, आगजनी, सडक दुर्घटना जस्ता विपद्मा धुलिखेल अस्पतालले नागरिकहरुका लागि पु¥याएको सेवा प्रभावकारी रहेको विरामीहरुले अनुभूति गरेका छन् ।
विपद् व्यवस्थापनसँगै सडक दुर्घटनाबाट हुने मृत्यु तथा गम्भीर घाइतेको संख्या न्यूनीकरण गर्ने उद्देश्यले धुलिखेल अस्पतालमा निर्माण भइरहेको ट्रमा तथा इमरजेन्सी सेन्टरलाई पनि अस्पतालले आफ्नो दीर्घकालीन स्वास्थ्य सेवाको महत्त्वपूर्ण पूर्वाधारका रूपमा अघि बढाएको छ । नेपालमा सडक दुर्घटनाको अवस्था भयावह बन्दै गएको तथ्यांकले देखाउँछ । सन् २०२४÷२०२५ मा मात्रै देशभर २४ हजार ४ सय ८८ वटा सडक दुर्घटना भएका छन् । ती दुर्घटनामा करिब ६ हजार नागरिक गम्भीर घाइते भएका छन् भने २ हजार ३ सय ७६ जनाले ज्यान गुमाएका छन् । औसतमा हेर्दा नेपालमा दैनिक पाँचदेखि छ जनाको सडक दुर्घटनाबाट मृत्यु हुने अवस्था देखिन्छ । सडक दुर्घटनाबाट हुने मानवीय क्षतिसँगै आर्थिक क्षति पनि ठूलो छ । उक्त अवधिमा दुर्घटनाका कारण ५६ अर्ब ४४ करोड ६१ लाख ५६ हजार ८ सय रुपैयाँ बराबरको सम्पत्ति क्षति भएको तथ्यांक छ । दुर्घटनामा घाइते भएकाको उपचारमा मात्रै करिब ६८ करोड रुपैयाँ खर्च भएको तथ्यांकले देखाउँछ ।
बढ्दो सडक दुर्घटना, विपद्का घटना र आकस्मिक उपचारको आवश्यकतालाई मध्यनजर गर्दै धुलिखेल अस्पतालले लामो समयदेखि समुदायस्तरमा सचेतना, प्राथमिक उपचार तथा आकस्मिक उपचार सेवामा जोड दिँदै आएको छ । अस्पतालको यही निरन्तर प्रयास, समुदायमा पु¥याएको स्वास्थ्य सेवा, व्यवस्थापन क्षमता र अस्पताल नेतृत्वप्रतिको विश्वासका कारण जापान सरकारले ट्रमा तथा इमरजेन्सी सेन्टर निर्माणका लागि पूर्ण अनुदान उपलब्ध गराएको अस्पतालका हाड जोर्नी विभागका प्रमुख तथा ट्रमा इमरजेन्सी सेन्टरका फोकल पर्सन डा.दिपक श्रेष्ठले बताए ।
जापानी सहयोगमा गौरवको परियोजना
बीपी राजमार्ग र अरनिको राजमार्गको संगमस्थल धुलिखेलमा निर्माण भइरहेको ट्रमा तथा इमरजेन्सी सेन्टर नेपालका लागि महत्त्वपूर्ण स्वास्थ्य पूर्वाधार परियोजनाका रूपमा हेरिएको छ । जापान सरकारको ३.८६ अर्ब जापानी येन, नेपाली रुपैयाँमा करिब ३ अर्ब ६० करोड रुपैयाँ बराबरको अनुदानमा भवन निर्माण भइरहेको हो । नेपाल र जापानबीच भएको सम्झौताअनुसार अघि बढाइएको यो परियोजना पूर्ण रूपमा अनुदानमा निर्माण भइरहेको अस्पतालले जनाएको छ । परियोजनाका लागि ७ अक्टोबर २०२३ मा पहिलो सम्झौता भएको थियो । त्यसपछि ११ अप्रिल २०२५ मा दोस्रो सम्झौता भएको हो । निर्माण कार्यको औपचारिक सुरुआत गर्दै २८ मे २०२५ मा भवन शिलान्यास गरिएको थियो । अहिले भवन निर्माणको काम तीव्र गतिमा अघि बढिरहेको छ । निर्माणको प्रगति तथा परियोजनाको अवस्थाका बारेमा निर्माण कम्पनीका तर्फबाट इन्जिनियर रोशन श्रेष्ठले जानकारी गराएका छन् । जापानी कम्पनी टोडा तथा नेपालको हिमालयन बिल्डर्स एण्ड इन्जिनियरिङ लगायतका कम्पनीले निर्माणको जिम्मेवारी पाएका छन् ।
२०२७ जुलाईमा हस्तान्तरण गर्ने लक्ष्य
निर्माण कार्यलाई निर्धारित समयमै सम्पन्न गरी २०२७ जुलाईमा भवन हस्तान्तरण गर्ने लक्ष्य राखिएको छ । नेपाल र जापानबीचको सम्बन्धको विशेष अवसर पारेर भवन हस्तान्तरण गर्ने तयारी भइरहेको जनाइएको छ । भवन हस्तान्तरणपछि तत्काल सेवा सञ्चालनमा ल्याउने अस्पतालको योजना छ । बीपी राजमार्ग र अरनिको राजमार्ग हुँदै देशका विभिन्न जिल्लाबाट दैनिक ठूलो संख्यामा मानिस धुलिखेल आउने गर्छन् । राजधानी काठमाडौंलाई पूर्वी तथा मध्यपहाडी जिल्लासँग जोड्ने महत्त्वपूर्ण सडक सञ्जालको संगममा रहेको धुलिखेलमा आधुनिक ट्रमा सेन्टर सञ्चालनमा आएपछि सडक दुर्घटना तथा विपद्बाट घाइते हुने नागरिकलाई तत्काल उपचार उपलब्ध गराउन महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
विशेषगरी काभ्रेपलाञ्चोकसहित सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, भक्तपुर, काठमाडौं तथा अरनिको र बीपी राजमार्ग हुँदै आवतजावत गर्ने नागरिकका लागि यो केन्द्र महत्त्वपूर्ण बन्नेछ । विपद् पर्दा उद्धार र उपचारमा अग्रपंक्तिमा खटिने अस्पतालका लागि निर्माण भइरहेको यो संरचना सञ्चालनमा आएपछि नेपालमा ट्रमा उपचारको एउटा महत्त्वपूर्ण केन्द्रका रूपमा विकास हुने अपेक्षा गरिएको छ । जापान सरकारको अनुदानमा निर्माण भइरहेको यो परियोजनाले नेपाल–जापान सहकार्यलाई स्वास्थ्य पूर्वाधारसँग जोड्नुका साथै सडक दुर्घटना र विपद्बाट हुने मानवीय क्षति न्यूनीकरणमा दीर्घकालीन योगदान पु¥याउने विश्वास गरिएको छ ।
भव्य बन्दैछ भवन
ट्रमा तथा इमरजेन्सी सेन्टर करिब १६ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको छ । भवनको कुल क्षेत्रफल करिब ७४ हजार वर्गफिट रहेको छ । भवनलाई विपद्, आगलागी तथा अन्य आकस्मिक अवस्थालाई समेत ध्यानमा राखेर सुरक्षित बनाउने गरी डिजाइन गरिएको छ । भवनमा न्यूनतम तीन फिटदेखि १० फिटसम्मका पिल्लर प्रयोग गरिएको छ । निर्माण कार्यमा दैनिक करिब १४ घण्टा काम भइरहेको छ भने हाल करिब २ सय ५० जना कामदार परिचालन भएका छन् । परियोजनाको करिब ५० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको जनाइएको छ ।
भवनमा अस्पताल सञ्चालनका लागि आवश्यक पर्ने खानेपानी, विद्युत्, अक्सिजनलगायतका पूर्वाधारको व्यवस्थित व्यवस्था गरिँदैछ । विपद्को अवस्थामा समेत सेवा सञ्चालन गर्न सकियोस् भन्ने उद्देश्यले करिब २ लाख लिटर क्षमताको पानी ट्यांकी निर्माण गरिएको छ । आगलागी नियन्त्रणका लागि आवश्यक अग्निनियन्त्रण प्रणालीसमेत राखिनेछ । अस्पतालभित्र अक्सिजन आपूर्ति सहज हुने गरी अक्सिजन पाइपलाइनको व्यवस्था गरिएको छ । विद्युत्, खानेपानी, अक्सिजन तथा अन्य आवश्यक पाइपलाइन र प्रणालीलाई भविष्यमा मर्मत तथा परिवर्तन गर्नुपर्ने अवस्थामा पनि सहज रूपमा पहिचान गर्न सकिने गरी मार्किङ गर्ने व्यवस्था गरिएको छ । यसले भवन सञ्चालनमा आएपछि प्राविधिक समस्या देखिएमा कुन भागमा समस्या आएको हो भन्ने तत्काल पहिचान गरी मर्मत गर्न सहज हुने अस्पतालको अपेक्षा छ ।
बीपी राजमार्गबाटै एम्बुलेन्स तेस्रो तलामा
नवनिर्मित ट्रमा सेन्टरको डिजाइनको महत्त्वपूर्ण पक्ष भनेको बीपी राजमार्गबाट सिधै अस्पतालको तेस्रो तलामा एम्बुलेन्स प्रवेश गर्न सक्ने व्यवस्था हो । विपी राजमार्ग पनि जापान सरकारको अनुदानमा निर्माण भएको नेपालको प्रमुख राजमार्ग हो । २०८१ असोज १०–१२ को विपत्ति पछि रोशी क्षेत्रमा क्षति भएको सडकको एउटा खण्ड पुनः जापान सरकारले निर्माण गर्ने गरी शुरुवात गरेको छ । दुर्घटनामा गम्भीर घाइते भएका बिरामीलाई एम्बुलेन्सबाट झारेर लामो दूरी हिँडाउँदै वा अन्य तल्लामा सार्दै लैजानुपर्ने अवस्थालाई अन्त्य गर्ने उद्देश्यले यस्तो संरचना तयार गरिएको हो ।
एम्बुलेन्स तेस्रो तल्लामा पुगेपछि त्यही तल्लाबाट बिरामीलाई आवश्यक पर्ने आकस्मिक उपचार सेवा उपलब्ध गराउन सकिने गरी संरचना तयार पारिएको छ । त्यस तलामा उपचारका विभिन्न आवश्यक सेवाहरू एकीकृत रूपमा उपलब्ध गराउने गरी डिजाइन गरिएको अस्पतालले जनाएको छ । भवनका तल्लो भागमा अस्पतालका अन्य विभाग तथा सेवाहरू रहनेछन् । बिरामीलाई एउटै तल्लामा आवश्यक पर्ने अधिकांश सेवा उपलब्ध गराउने अवधारणाअनुसार संरचना तयार गरिएको हो ।
एक सय शय्याको ट्रमा तथा इमरजेन्सी सेवा
भवन निर्माण सम्पन्न भएपछि यहाँ एक सय शय्याको ट्रमा तथा इमरजेन्सी अस्पताल सञ्चालनमा ल्याउने तयारी छ । दुर्घटना तथा अन्य आकस्मिक अवस्थाका बिरामीको उपचारका लागि आवश्यक पर्ने शल्यक्रिया, भेन्टिलेटर, आईसीयू, एचडीयू, क्याबिनलगायतका सेवा उपलब्ध गराउने हाडजोर्नी विभागका डा. दिपक श्रेष्ठले बताए । त्यसैगरी सीटी स्क्यान, एमआरआई, ब्लड बैंक, प्रयोगशाला लगायतका सेवा पनि उपलब्ध हुनेछन् । सडक दुर्घटना, विपद् तथा गम्भीर चोटपटकका बिरामीलाई तत्काल उपचार उपलब्ध गराउन आवश्यक पर्ने पूर्वाधार एउटै संस्थाभित्र उपलब्ध गराउने लक्ष्य राखिएको छ । तर उपचारपछि आवश्यक पर्ने दीर्घकालीन पुनस्र्थापना सेवा भने यही अस्पतालबाट सञ्चालन गर्ने योजना छैन । ट्रमा तथा इमरजेन्सी सेन्टरको मुख्य उद्देश्य दुर्घटना तथा आकस्मिक अवस्थाका बिरामीलाई तत्काल उद्धार, उपचार र आवश्यक शल्यक्रियासहित जीवनरक्षा गर्नु हो ।
‘चोटपटकपछि पहिलो ६ घण्टा महत्वपूर्ण’
धुलिखेल अस्पतालका हाडजोर्नी विभाग प्रमुख डा. दीपक श्रेष्ठ, इमरजेन्सी विभाग प्रमुख डा. सानुकृष्ण श्रेष्ठ तथा प्रवक्ता एवं स्त्रीरोग विशेषज्ञ डा. सुमनराज ताम्राकारलगायतका चिकित्सकहरूले दुर्घटना तथा विपद्को अवस्थामा तत्काल उपचारको महत्वमा जोड दिँदै आएका छन् । हाडजोर्नी विभाग प्रमुख डा. श्रेष्ठका अनुसार सडक दुर्घटना तथा अन्य कारणले चोटपटक लागेका व्यक्तिको उपचारमा समय अत्यन्त महत्वपूर्ण हुन्छ । चोटपटक लागेपछि सुरुआती घण्टामा आवश्यक उपचार पाउन सके गम्भीर अवस्थाका बिरामीलाई समेत बचाउन सकिने सम्भावना बढ्छ । दुर्घटना लापरबाही, बाध्यता, अज्ञानता वा भवितव्य जुनसुकै कारणले हुन सक्ने भए पनि दुर्घटनापछि घाइतेलाई कसरी प्राथमिक उपचार गर्ने र कति छिटो अस्पताल पु¥याउने भन्ने विषयले उपचारको परिणाममा ठूलो प्रभाव पार्छ ।
विशेषगरी चोटपटकपछि ६ घण्टाभित्र उपचारको पहुँच पु¥याउन सकिएमा बिरामीलाई जटिलताबाट जोगाउन महत्वपूर्ण योगदान पुग्ने चिकित्सकहरूको भनाइ छ । त्यसका लागि सडक दुर्घटना तथा विपद्को अवस्थामा प्राथमिक उपचारसम्बन्धी ज्ञान समुदायस्तरमै विस्तार गर्नुपर्ने आवश्यकता छ । दुर्घटना भएको स्थानमा अनावश्यक भीड जम्मा गर्नेभन्दा घाइतेको अवस्था सुरक्षित राख्ने, प्राथमिक उपचार गर्ने र सकेसम्म छिटो अस्पताल पु¥याउने प्रणाली विकास गर्नुपर्ने चिकित्सकहरू बताउँछन् ।
समुदायस्तरमै रोकथाममा जोड
सडक दुर्घटनाबाट हुने मृत्यु रोक्न अस्पताल पुगेपछि मात्रै उपचार गरेर पर्याप्त नहुने धुलिखेल अस्पतालको अनुभव छ । दुर्घटना हुनै नदिन सचेतना, दुर्घटना भइसकेपछि प्राथमिक उपचार र त्यसपछि तत्काल अस्पतालसम्म पु¥याउने व्यवस्थालाई एकीकृत रूपमा अघि बढाउनुपर्नेमा अस्पतालले जोड दिँदै आएको छ । नेपालमा वर्षेनी सडक दुर्घटनाबाट मृत्यु हुने नागरिकको संख्या बढ्दै जानु चिन्ताको विषय भएको चिकित्सकहरूको भनाइ छ । सन् २०१७ मा सडक दुर्घटनाबाट हुने नागरिक मृत्युको अवस्थाका आधारमा नेपाल विश्वका उच्च जोखिम भएका मुलुकमध्ये आठौं स्थानमा रहेको तथ्यांकसमेत यस क्षेत्रमा प्रस्तुत हुँदै आएको छ । दुर्घटना न्यूनीकरणका लागि सडक पूर्वाधार सुधार, सवारी साधनको अवस्था, चालकको अनुशासन, ट्राफिक नियमको पालना, यात्रुको सावधानीसँगै दुर्घटना भएपछि गरिने उद्धार तथा उपचार प्रणालीलाई पनि समान महत्व दिनुपर्ने देखिन्छ । यही आवश्यकता पूरा गर्ने उद्देश्यले धुलिखेल अस्पतालले ट्रमा तथा इमरजेन्सी सेन्टरलाई केवल एउटा भवन निर्माणको परियोजनाका रूपमा नभई विपद् र सडक दुर्घटनाको उपचार प्रणालीलाई संस्थागत गर्ने पूर्वाधारका रूपमा अघि बढाएको डा.श्रेष्ठले बताए ।
जनशक्तिको तयारी सुरु
भवन निर्माणसँगै अस्पतालले सञ्चालनका लागि आवश्यक दक्ष जनशक्ति व्यवस्थापनको तयारीसमेत सुरु गरेको छ । ट्रमा सेन्टरमा आधुनिक उपकरण र पूर्वाधार मात्रै भएर पुग्दैन । आकस्मिक उपचार, हाडजोर्नी, शल्यक्रिया, एनेस्थेसिया, आईसीयू, रेडियोलोजी, प्रयोगशाला, नर्सिङलगायत विभिन्न विधाका दक्ष जनशक्ति आवश्यक पर्ने भएकाले अस्पतालले जनशक्ति व्यवस्थापनलाई पनि प्राथमिकतामा राखेको छ । भवन हस्तान्तरणलगत्तै सेवा सञ्चालन गर्न सकियोस् भन्ने उद्देश्यले आवश्यक जनशक्ति र सञ्चालन प्रणालीको पूर्वतयारी थालिएको अस्पतालले जनाएको छ । अस्पताल सञ्चालनमा ल्याउन प्रारम्भिक चरणमा मात्रै करिब ३० करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ । सेवा विस्तार गर्दै जाँदा उपकरण, जनशक्ति र अन्य पूर्वाधारका कारण सञ्चालन लागत थप बढ्नेछ ।
विपद्का बीच पनि रोकिएन निर्माण
परियोजना निर्माणका क्रममा विभिन्न चुनौतीसमेत आएका छन् । इरान र अमेरिकाबीचको युद्ध, नेपालमा आएको बाढी तथा अन्य विपद् र जेनजी आन्दोलनका कारण निर्माण सामग्री, जनशक्ति तथा परियोजना सञ्चालनमा केही असहजता उत्पन्न भए पनि निर्माण कार्य पूर्ण रूपमा रोकिएको छैन । निर्माण कम्पनी, धुलिखेल नगरपालिका, धुलिखेल अस्पताल तथा नेपाल सरकारका विभिन्न निकायले परियोजना सञ्चालनमा सहजीकरण गरिरहेका छन् । अर्थ मन्त्रालय र स्वास्थ्य मन्त्रालयलगायत सम्बन्धित सरकारी निकायबाट समेत आवश्यक सहजीकरण भइरहेको अस्पतालले जनाएको छ । विपद्का बेला आफैं उद्धार तथा उपचारमा खटिँदै आएको धुलिखेल अस्पतालले त्यही अनुभवलाई संस्थागत गर्ने गरी ट्रमा तथा इमरजेन्सी सेन्टर निर्माण गरिरहेको छ ।











प्रतिक्रिया