तिलगंगा आँखा प्रतिष्ठानद्वारा बाढी प्रभावितका लागि १ करोड १ लाख १ सहयोग


काठमाडौं ।

भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानले १ करोड १ लाख १ रुपैयाँ सहयोग गर्ने भएको छ ।

तिलगंगा आँखा प्रतिष्ठानले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएको छ । साथै, प्रतिष्ठानका कर्मचारीले एक दिन बराबरको तलबसमेत कोषमा सहयोग गर्ने निर्णय गरेका छन् ।

भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट, धादिङ र गोर्खाका केही क्षेत्रमा ठूलो जनधनको क्षति भएको भन्दै प्रतिष्ठानले विपत्तिप्रति दुःख व्यक्त गरेको छ । बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रतिष्ठानले शोकसन्तप्त परिवारप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

प्रतिष्ठानले बाढी प्रभावित क्षेत्रमा घाइते बिरामीको आँखासम्बन्धी उपचार निःशुल्क गर्ने निर्णयसमेत गरेको छ । त्यसका लागि रसुवा, नुवाकोट र धादिङमा कार्यरत कर्मचारी तथा ग्रामीण आँखा केन्द्रको सहयोगमा टोली गठन गरी जिल्ला दैवी प्रकोप समन्वय समितिसँगको समन्वयमा प्रभावित क्षेत्रमा परिचालन गरिने जनाएको छ ।

उक्त टोलीले प्रभावित समुदायको आवश्यकताअनुसार आँखा परीक्षण तथा आवश्यक आँखा उपचार सेवा प्रदान गर्नेछ ।

प्रतिष्ठानका अनुसार देशभित्र तथा विदेशमा रहेका शुभेच्छुक र सहयोगीबाट प्राप्त रकम तथा संस्थाले आर्जन गरेको रकमबाट विपद्का बेला सरकारको राहत, उद्धार र पुनर्स्थापनाको प्रयासमा सहयोग पुर्‍याउन उक्त निर्णय गरिएको हो ।

आगामी दिनमा शुभेच्छुकमार्फत थप सहयोग प्राप्त भएमा पुनर्निर्माणको यात्रामा समेत साथ दिने प्रतिबद्धता प्रतिष्ठानले जनाएको छ ।