लमजुङ।
रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि लमजुङका आठ जना नागरिक सम्पर्कविहीन भएका छन् । रोजगारी, सुरक्षा तथा अन्य कामका सिलसिलामा रसुवा पुगेका उनीहरु बुधबार आएको बाढीपछि परिवारको सम्पर्कमा आउन नसकेका हुन् ।
सम्पर्कविहीन हुनेमा बेसीशहर नगरपालिका–११ चितीका झपडबहादुर घर्ती र उनकी श्रीमती राधिका घर्ती रहेका छन् । दुवैजना रसुवास्थित माथिल्लो त्रिशूली–३ ए जलविद्युत् केन्द्रमा कार्यरत थिए । सोही वडाको चिती हटियाका कुमार परियार पनि सम्पर्कविहीन छन् । उनी धुन्चेस्थित एक होटलमा काम गर्दै आएका थिए।
दोर्दी गाउँपालिका–६ पैरेखोलाका राजकुमार तामाङ निर्माणाधीन मैलुङ–२१६ हाइड्रोपावरमा कार्यरत थिए । राइनास नगरपालिका–६ का अनुस्का पाण्डे चिलुवाल र उनको छोरा आयुष चिलुवाल, राइनास–९ साततलेका राजन थापा रसुवागढी हाइड्रोपावरमा कार्यरत रहेको परिवारले जनाएको छ ।
त्यस्तै, बेसीशहर नगरपालिका–१ उदिपुरका सुगम सिलवाल पनि बाढीपछि सम्पर्कविहीन भएका छन् । हाल चितवनको भरतपुर महानगरपालिका–५ महेन्द्रचोकनजिक बस्दै आएका सिलवाल पर्यटकसँगै रसुवाको टिमुरे पुगेका थिए ।
मर्स्याङदी गाउँपालिका–९ बगुवाका युवराज भण्डारी सशस्त्र प्रहरी बलमा कार्यरत थिए । उनी टिमुरेमा सुरक्षाका लागि खटिएका थिए । बाढी आएको खबरपछि परिवारले सम्पर्कको प्रयास गरे पनि बुधबार बिहानदेखि सम्पर्क हुन नसकेको जनाएको छ ।
मर्स्याङदी गाउँपालिका–३ खुदीकी रमिला भण्डारी पनि सम्पर्कविहीन छन् । माथिल्लो त्रिशूली–३ ए जलविद्युत् केन्द्रमा कार्यरत उनीसँग बुधबार बिहान ९ बजेपछि सम्पर्क हुन नसकेको परिवारले जनाएको छ । परिवारका अनुसार उनी भदौ २ गते घर आएर दुई दिन बसेपछि छोरी स्वर्णीमाको जन्मदिनमा भदौ १७ गते घर आउने बताउँदै कार्यस्थल फर्किएकी थिइन् ।
हाल सम्पर्कविहीन आठै जनाको अवस्थाबारे यकिन जानकारी प्राप्त हुन सकेको छैन । उनीहरुको खोजी तथा अवस्थाबारे जानकारी लिन परिवारजनले सम्बन्धित निकायसँग आग्रह गरेका छन् । साथै, सम्पर्कविहीनमध्ये कसैको अवस्थाबारे जानकारी प्राप्त भएमा सम्बन्धित परिवारलाई खबर गरिदिन अनुरोध गरिएको छ ।















प्रतिक्रिया