ग्लोबल आइएमई बैंकद्वारा बाढी प्रभावितका लागि ५ करोड सहयोग


काठमाडौं ।

ग्लोबल आइएमई बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, तत्काल राहत तथा दीर्घकालीन पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ५ करोड सहयोग गर्ने घोषणा गरेको छ।

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनलगायत नदी तटीय क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको बैंकले जनाएको छ। बाढीका कारण कैयौँ नागरिकको ज्यान गएको, धेरै जना बेपत्ता भएको तथा सयौँ परिवार विस्थापित हुनुपरेको बैंकको भनाइ छ।

बाढीले स्थानीय बस्ती, पुल, सडक तथा जलविद्युत् आयोजनामा समेत क्षति पुर्‍याएको जनाउँदै बैंकले बेपत्ताको खोजी, घाइतेको उपचार, प्रभावितलाई खाद्यान्न तथा अस्थायी बासको व्यवस्था र क्षतिग्रस्त संरचनाको दीर्घकालीन पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम उपलब्ध गराउन लागेको जनाएको छ।

बाढी तथा पहिरोमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बैंकले शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै, बेपत्ताको सुरक्षित खोजी तथा उद्धार र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

बैंकले राष्ट्रिय संकट तथा विपद्का समयमा सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक, भौतिक तथा मानवीय सहायता उपलब्ध गराउँदै आएको जनाएको छ। यसअघि पनि बाढी, पहिरो, डुबान, भूकम्प तथा महामारीलगायतका विपद्मा बैंकले सहयोग गर्दै आएको दाबी गरेको छ।

ग्लोबल आइएमई बैंकका अनुसार बैंकले मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंकका रूपमा हाल ३४१ शाखा, ३६८ एटीएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिँदै आएको छ।

बैंकले विभिन्न मुलुकबाट औपचारिक माध्यममार्फत नेपालमा विप्रेषण भित्र्याउँदै राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान पुर्‍याउँदै आएको जनाएको छ।

Skip This