पाकिस्तानको राजधानी इस्लामाबादस्थित पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (पिम्स) अस्पतालमा बुधबार बिहान भएको भीषण आगलागीमा १४ नवजात शिशुको मृत्यु भएको छ। अस्पतालको मातृ तथा बाल स्वास्थ्य वार्डको तेस्रो तलामा रहेको नवजात शिशु कक्षमा बिहान करिब ६ः४५ बजे आगो लागेको थियो।
आगलागी हुँदा कक्षमा १५ नवजात शिशु रहेकोमा एक जनालाई जीवितै उद्धार गरिएको र बाँकी १४ जनाको मृत्यु भएको अस्पतालले जनाएको छ। आगो नियन्त्रणका लागि ६ वटा दमकल र ४ वटा एम्बुलेन्स परिचालन गरिएको थियो।
प्रारम्भिक विवरणमा वातानुकूलित उपकरणमा भएको विद्युतीय समस्या वा विस्फोटबाट आगो सुरु भएको हुनसक्ने बताइएको छ। अक्सिजन आपूर्तिका कारण आगो तीव्र रूपमा फैलिएको स्वास्थ्य मन्त्रीले बताएका छन्। यद्यपि आगलागीको वास्तविक कारणबारे अनुसन्धान जारी छ।
घटनापछि पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले उच्चस्तरीय छानबिन समिति गठन गर्दै दोषी देखिए कडा कारबाही गर्न निर्देशन दिएका छन्। संघीय स्वास्थ्य सचिवलाई समेत निलम्बन गरिएको छ।
घटनापछि अस्पतालबाहिर शोकाकुल अभिभावक तथा आफन्तको भीड लागेको छ। यो घटना पाकिस्तानमा पछिल्लो समयकै सबैभन्दा हृदयविदारक अस्पताल दुर्घटनामध्ये एक बनेको छ।














प्रतिक्रिया