काठमाडौं।
भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, धादिङ, नुवाकोट, गोरखा, चितवन लगायत विभिन्न क्षेत्रमा बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति नेपाल चिकित्सक संघले गहिरो दुःख व्यक्त गरेको छ ।
संघले बुधबार एक विज्ञप्ति जारी गर्दै बाढीपहिरोका कारण ठूलो संख्यामा नागरिक विस्थापित हुन पुगेको घटनाप्रति चिन्ता व्यक्त गर्दै प्राकृतिक प्रकोपमा ज्यान गुमाउने सम्पूर्ण नागरिकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको हो ।
बाढीपहिरोका कारण उद्धारको पर्खाइमा रहेका नागरिकको तत्काल उद्धार गर्न संघले नेपाल सरकारसँग आग्रह गरेको छ । प्रभावित क्षेत्रमा उद्धार तथा उपचारका लागि आवश्यक चिकित्सक र स्वास्थ्य सामग्रीसहितको चिकित्सकीय टोली तयारी अवस्थामा राखिएको र सरकारसँग समन्वय भइरहेको संघले जनाएको छ ।
नेपाल चिकित्सक संघले विपद्को समयमा सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन र आ–आफ्नो क्षेत्रबाट स्वास्थ्य सेवामा सक्रिय रूपमा संलग्न हुनसमेत आग्रह गरेको छ ।
त्यसैगरी, बाढीपहिरोपछि फैलिन सक्ने सम्भावित महामारी तथा स्वास्थ्यजन्य जोखिम नियन्त्रणका लागि आवश्यक समन्वय र सहयोग गर्न संघका सम्पूर्ण शाखा कार्यालय सहित चिकित्सकहरूलाई तयारी अवस्थामा रहन आह्वान गरिएको छ ।
प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको उद्धार, उपचार तथा राहतमा सहयोग गर्न चिकित्सक, स्वास्थ्यकर्मी, विभिन्न संघसंस्था, नागरिक समाज, पत्रकार तथा आम नागरिकलाई समेत संघले आग्रह गरेको छ ।
नेपाल चिकित्सक संघका महासचिव डा. विश्वराज वज्राचार्य र अध्यक्ष डा. बद्री रिजालद्वारा जारी विज्ञप्तिमा विपद्को यस कठिन समयमा मानवीय सेवामा जुट्न सबै पक्षलाई आह्वान गरिएको छ ।
संघले प्रभावित क्षेत्रमा तत्काल स्वास्थ्य सेवा पु¥याउन सरकार, स्वास्थ्य संस्था तथा सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको जनाएको छ । बाढीपहिरोपछि घाइते तथा विस्थापित नागरिकमा संक्रमणजन्य रोग फैलिन सक्ने जोखिमसमेत रहेकाले स्वास्थ्य सेवा र आवश्यक औषधि तथा सामग्रीको व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने संघको भनाइ छ ।














प्रतिक्रिया