धादिङ ।
चीनको हिमताल फुटेर भोटेकोशी हुँदै आएको बाढीले धादिङ जिल्लामा ठूलो क्षति पुर्याएको छ। बाढीले धादिङको सदरमुकाम धादिङबेसीलाई पृथ्वीराजमार्गसँग जोड्ने मलेखुस्थित फुर्केखोला पुल बगाएपछि सदरमुकामसँगको मुख्य यातायात सम्पर्क नै टुटेको छ।
२०५६ सालमा निर्माण भएको फुर्केखोला पुल त्रिशूली नदीमा आएको भीषण बाढीले बगाएको हो। बाढीका कारण धादिङका विभिन्न स्थानमा रहेका पाँच वटा पक्की पुलसमेत बगाएका छन्।
बाढीले गल्छी गाउँपालिकाको बैरेनी–स्यालटार जोड्ने पक्की पुल, केउरिनी–कोसीखोला जोड्ने पुल, घाटबेसीस्थित पिपलटार–घाटबेसी जोड्ने पुल तथा जरेखेत–कुम्पुर जोड्ने पक्की पुलमा क्षति पुर्याएको छ।
रसुवामा बाढी आएपछि धादिङ प्रशासनले प्राप्त सूचनाका आधारमा बजारबस्ती तथा त्रिशूली नदीमाथिका पुलमा मानिस र सवारीसाधनको आवतजावत रोक लगाएको थियो। समयमै आवतजावत रोकिएकाले मानवीय क्षति भने हुन नपाएको जनाइएको छ।
बाढीका कारण गल्छी गाउँपालिका–८ को निबुवाबोटे बस्ती, महेशदोभान, बैरेनी बजार, घाटबेसी, बेल्खु, जरेखेत, फुर्केखोला, मलेखु र बेनिघाटलगायतका क्षेत्रमा घर तथा भौतिक संरचनामा क्षति पुगेको छ।
त्रिशूली नदी किनारका धेरै बस्ती बाढीको चपेटामा परेका छन्। नदीले कटान गर्दा कतिपय बस्तीमा क्षति पुगेको छ भने पृथ्वीराजमार्गको केही भागसमेत कटानमा परेको छ।
धादिङबेसीमा कृत्रिम अभाव
धादिङबेसीसँगको यातायात सम्पर्क टुटेपछि सदरमुकाम बजारमा ग्यास, पेट्रोलियम पदार्थ तथा खाद्यान्नको कृत्रिम अभाव देखिन थालेको छ। सामान अभाव हुने आशंकामा उपभोक्ताहरू पसलमा सामान खरिद गर्न लाइनमा बस्न थालेका छन्।
बजारका केही पसलमा सामान सकिएको भन्दै बिक्री रोकिएको छ भने कतिपय व्यापारीले सामानको मूल्यसमेत बढाउन थालेका छन्।
मलेखु पुल भत्किएको केही समयमै धादिङबेसीमा कृत्रिम अभाव सिर्जना हुँदा उपभोक्ता मर्कामा परेको उपभोक्ता अधिकारकर्मी शिवराज सापकोटाले बताउनुभयो।
विपद् व्यवस्थापन समितिको बैठक
बाढीबाट भएको क्षतिपछि जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेर उद्धार, राहत तथा पुनःस्थापनाका लागि आवश्यक योजना बनाइएको छ।
बैठकले क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माण तथा विपद्मा परेका नागरिकलाई राहत र सहयोग उपलब्ध गराउन संघ तथा प्रदेश सरकारसँग आग्रह गर्ने निर्णय गरेको छ।
यसैबीच नीलकण्ठ नगरपालिकाले बजार अनुगमन गरेको छ। बजारमा कालोबजारी गर्ने तथा कृत्रिम अभाव सिर्जना गर्ने व्यवसायीलाई कारबाहीको दायरामा ल्याइने नगर उपप्रमुख दीपक विश्वकर्माले जानकारी दिनुभयो।














प्रतिक्रिया