प्रेमिकाले कारभरि ३४ सय चुम्बन गरेपछि प्रहरीको फन्दामा युवक


भारतको ग्वालियरमा सामाजिक सञ्जालमा भाइरल बन्ने प्रयास एक युवकलाई महँगो परेको छ। उनकी प्रेमिकाले कारभरि करिब ३ हजार ४ सयवटा लिपस्टिकका चुम्बनका निशान बनाएपछि उक्त कारको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।

कारमा चुम्बनका निशान बनाउन करिब साढे तीन घण्टा लागेको र लिपस्टिकमा ८ सयदेखि ९ सय भारतीय रुपैयाँ खर्च भएको युवकले बताएका छन्। भिडियोले करिब ५५ लाख पटक हेरिएको बताइएको छ।

तर भाइरल भिडियो प्रहरीको नजरमा परेपछि अवस्था बदलियो। प्रहरीले भिडियोका आधारमा कारको खोजी गर्दै थातिपुर क्षेत्रमा फेला पारेको थियो। त्यसपछि कारलाई प्रहरी कार्यालयमा लगेर मोटर वाहनसम्बन्धी कानुन उल्लङ्घन गरेको भन्दै करिब ५ हजार ५ सय भारतीय रुपैयाँ जरिवाना गरियो। प्रहरीले कारमा लगाइएका सबै लिपस्टिकका निशान हटाउनसमेत लगाएको थियो। युवकले प्रहरीसमक्ष गल्ती स्वीकार गर्दै आगामी दिनमा यस्ता गतिविधि नगर्ने प्रतिबद्धता जनाएका छन्।

प्रहरीका अनुसार उक्त गतिविधि सामाजिक सञ्जालमा आफ्नो पहुँच र फलोअर बढाउने उद्देश्यले गरिएको थियो।