बेमौसमी तरकारीबाट दैनिक लाखौँ कमाइ

0
Shares

मस्र्याङ्दी गाउँपालिका–८, भुस्मेमा उत्पादन भएका बेमौसमी ताजा तरकारी अहिले जिल्लाका विभिन्न बजारमा पुग्न थालेका छन् । गाउँमा उत्पादन भएका काउली, हरियो काँक्रो, विभिन्न प्रकारका सागलगायत तरकारी बेसीशहर, खुदी र भुलभुले बजारमा बिक्रीका लागि दैनिक ढुवानी हुने गरेका छन् ।

स्थानीय किसानले व्यावसायिक रुपमा तरकारी खेती विस्तार गरेसँगै उत्पादनमा उल्लेख्य वृद्धि भएको हो । भुस्मेको चिसो हावापानी र अनुकूल वातावरणका कारण अन्य स्थानमा सहजै उत्पादन नहुने बेमौसमी तरकारीसमेत राम्रो उत्पादन भइरहेको किसानहरुको भनाइ छ ।
किसान होमराज तामाङका अनुसार बेमौसमी तरकारी बिक्रीबाट दैनिक ८० हजारदेखि १ लाखसम्म आम्दानी हुने गरेको छ भने कहिलेकाहीँ त साढे २ लाखसम्म पनि आम्दानी हुने गरेको छ । उत्पादन र बजारको मागअनुसार आम्दानीमा उतारचढाव हुने उनले बताए ।

स्थानीय किसान होमराज तामाङका अनुसार उत्पादन भएका तरकारी जिपमार्फत बजारसम्म पु¥याइन्छ । ‘बजारमा ताजा तरकारीको राम्रो माग भएकाले दैनिक जिपबाट बेसीशहर, खुदी र भुलभुले बजारमा तरकारी पठाउने गरेका छौं,’ उनले भने ।

भुस्मेको ताजा तरकारीको माग स्थानीय बजारमा बढ्दै गएको किसानहरु बताउँछन् । गाउँमै उत्पादन भएको ताजा तरकारी सहजरुपमा बजारमा पुग्न थालेपछि किसानले उचित मूल्य पाउन थालेका छन् भने उपभोक्ताले पनि ताजा र गुणस्तरीय तरकारी उपभोग गर्न पाएका छन् ।
भुस्मेका किसानले मौसमीसँगै बेमौसमी तरकारी खेतीलाई आयआर्जनको मुख्य आधार बनाउँदै आएका छन् । स्थानीय सरकारले पनि व्यावसायिक तरकारी खेती विस्तार गर्न विभिन्न कार्यक्रममार्फत किसानलाई प्रोत्साहन गर्दै आएको जनाएको छ ।