काठमाडौं ।
नेपालको ठूलो अटोमोबाइल तथा मोबिलिटी प्रदर्शनी ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औँ नाडा अटो शो २०२६’ नजिकिएसँगै काठमाडौंको भृकुटीमण्डपमा स्टल निर्माणको काम तीव्र गतिमा अघि बढेको छ।
भदौ ९ देखि १४ गतेसम्म आयोजना हुने प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको आयोजक नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले जनाएको छ। प्रदर्शनीस्थलमा विभिन्न अटोमोबाइल ब्रान्डसँगै अटो पार्ट्स तथा कम्पोनेन्ट, टायर, ल्युब्रिकेन्ट्स, ब्याट्री, चार्जिङ पूर्वाधार, ग्यारेज उपकरण, बैंक तथा बीमा कम्पनीका स्टल निर्माणको काम भइरहेको छ।
नाडाका अनुसार यस वर्षको प्रदर्शनी नाडाको ५०औँ स्थापना वर्षको स्वर्ण जयन्ती संस्करणसमेत भएकाले विशेष रूपमा आयोजना हुँदैछ। प्रदर्शनीमा २०० भन्दा बढी स्टल रहनेछन्।
करिब ३ लाख वर्गफिट क्षेत्रफलमा सञ्चालन हुने अटो शोमा यात्रुवाहक सवारीका २३, हल्का व्यावसायिक सवारीका १७ र दुईपांग्रे सवारीका १३ गरी कुल ५३ वटा सवारी ब्रान्डको सहभागिता रहनेछ। त्यस्तै, करिब ७० वटा स्टलमा अटो पार्ट्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट्स, एसेसरिज तथा ग्यारेज उपकरणलगायतका सामग्री प्रदर्शन गरिनेछ।
प्रदर्शनी सुरु हुन केही दिन मात्र बाँकी रहेकाले भृकुटीमण्डपमा अहिले स्टल निर्माणको चटारो बढेको छ। विभिन्न कम्पनीले आफ्ना स्टललाई आकर्षक तथा प्रविधिमैत्री बनाउने काम गरिरहेका छन्। स्टल निर्माणसँगै विद्युत्, प्रकाश, डिजिटल डिस्प्ले, ब्रान्डिङ तथा अन्य प्राविधिक व्यवस्थापनको काम पनि एकसाथ अघि बढाइएको छ।
आयोजकका अनुसार यसपटकको अटो शो विगतका संस्करणभन्दा थप व्यवस्थित, प्रविधिमैत्री र आकर्षक बनाउने तयारी गरिएको छ। प्रदर्शनीमा नयाँ सवारीसाधन, विद्युतीय सवारी (ईभी), अत्याधुनिक प्रविधि तथा अटोमोबाइल क्षेत्रका विभिन्न उत्पादन र सेवाहरू प्रदर्शन गरिनेछन्।
नाडा अटो शोले उपभोक्ता, व्यवसायी, वितरक, वित्तीय संस्था तथा अटोमोबाइल क्षेत्रका अन्य सरोकारवालाबीच प्रत्यक्ष भेटघाट तथा व्यावसायिक अन्तरक्रियाको अवसरसमेत प्रदान गर्ने आयोजकको भनाइ छ। प्रदर्शनीमार्फत नेपाली अटोमोबाइल तथा मोबिलिटी क्षेत्रमा भित्रिएका नयाँ प्रविधि, बजारको अवस्था र भविष्यको दिशाबारे जानकारी लिन सकिनेछ।
यस वर्षको प्रदर्शनीमा ‘मेड इन नेपाल र मेड फर नेपाल’ नामक विशेष पेभिलियनसमेत रहनेछ। उक्त पेभिलियनमार्फत नेपालमै उत्पादन तथा एसेम्बल भएका सवारीसाधन, ईभी, ब्याट्री, हेल्मेट तथा अन्य अटोमोबाइल कम्पोनेन्टको प्रवर्द्धन गरिनेछ।
नाडा अटो शो २०२६ भदौ ९ देखि १४ गतेसम्म अर्थात् अगस्ट २५ देखि ३० सम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनीस्थलमा सञ्चालन हुनेछ। आयोजकले प्रदर्शनीलाई नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको प्रमुख व्यावसायिक मञ्चका रूपमा प्रस्तुत गरेको छ।











प्रतिक्रिया