विद्यार्थीले उठाए शिक्षा, सुरक्षा र बालअधिकारका कुरा

0
Shares

लमजुङ । लमजुङको सदरमुकाम बेसीशहरमा हालै आयोजित ‘स्थानीय सरकारसँग बालबालिका’ कार्यक्रममा बालबालिकाले शिक्षा, स्वास्थ्य, सुरक्षा तथा बालअधिकारसँग सम्बन्धित विभिन्न सवाल स्थानीय सरकारसमक्ष राखेका छन् । वल्र्ड भिजन इन्टरनेसनल नेपालको आर्थिक सहयोग, ग्रामीण सामुदायिक विकास केन्द्र (आरसीडीसी) नेपाल र बेसीशहर नगरपालिकाको सहकार्य तथा बेसीशहर नगर सञ्जालको आयोजनामा सम्पन्न कार्यक्रममा नगरभित्रका सामुदायिक तथा निजी विद्यालयका ३० जना विद्यार्थीको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागी बालबालिकाले समाजमा बढ्दो लागूपदार्थ दुव्र्यसन, बालविवाह र बालश्रम नियन्त्रणका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए । उनीहरुले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार, विद्यालय तथा सार्वजनिक स्थलमा सेनेटरी प्याडको सहज व्यवस्था, विद्यार्थीभन्दा शिक्षक बढी रहेका विद्यालयको समायोजन तथा शिक्षक व्यवस्थापन गर्नुपर्ने विषयसमेत उठाएका थिए ।
त्यस्तै, दुई दिनको सार्वजनिक बिदाले अतिरिक्त क्रियाकलापमा असर परेको, विद्यालयबाहिर रहेका बालबालिकालाई विद्यालयमा ल्याउन नगरपालिकाको योजना के छ भन्ने जिज्ञासा पनि विद्यार्थीहरुले राखेका थिए ।

बालबालिकाका लागि निर्माण गरिएको कर्पुरेश्वर पार्कमा फोहोर व्यवस्थापन प्रभावकारी नभएको, खेलमैदानको उचित व्यवस्थापन गर्नुपर्ने, ट्युसन पढेर साँझ घर फर्किने विद्यार्थीका लागि सडक बत्तीको अभावले असुरक्षा बढाएको तथा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नुपर्ने भन्दै एसईईपछि उच्च शिक्षामा निजी विद्यालयका विद्यार्थीहरुसँग प्रतिस्पर्धा गर्न कठिनाइ हुने गरेको बालबालिकाले गुनासो गरेका छन् ।

कार्यक्रममा जेहेन्दार तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने, विद्यालयमा उपलब्ध शैक्षिक सामग्रीको सही सदुपयोग सुनिश्चित गर्नुपर्ने तथा सामुदायिक विद्यालयसँगै निजी विद्यालयको पनि नियमित अनुगमन गर्नुपर्ने सुझाव बालबालिकाले दिएका थिए ।

बालबालिकाले उठाएका प्रश्नहरुको जवाफ दिँदै बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल र उपप्रमुख पदमा गुरुङले बालबालिकाबाट आएका सुझावलाई नगरपालिकाले गम्भीरतापूर्वक लिई आवश्यक नीतिगत तथा कार्यक्रमगत सुधार गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रमको सहजीकरण सञ्चारकर्मी वसन्ता भट्टले गर्नुभएको थियो । कार्यक्रममा वल्र्ड भिजन इन्टरनेसनल नेपालका जिल्ला संयोजक शुक्रराज गुरुङ, आरसीडीसी नेपालका अध्यक्ष राजेन्द्र बोहोरा, बेसीशहर नगरपालिकाका कार्यक्रम अधिकृत मेघेन्द्र पोख्रेल, आरसीडीसीका बाल संरक्षण अधिकृत तथा कार्यक्रम संयोजक हेमराज विमली, इम्प्याक्ट कोच सुदिल परियारलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको समापन बेसीशहर नगर सञ्जालका अध्यक्ष दिप्सन भुजेलले गर्नुभएको थियो । उहाँले बालबालिकाका आवाजलाई स्थानीय सरकारसम्म पु¥याउने यस्ता कार्यक्रमले बालमैत्री स्थानीय शासन सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।