काठमाडौं।
गरिमा विकास बैंक लिमिटेडले आफ्नो केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका–३, बालुवाटारमा स्थानान्तरण गरेको छ। बैंकको नवनिर्मित आफ्नै स्वामित्वको भवनमा स्थापना गरिएको केन्द्रीय कार्यालयको बुधबार नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले उद्घाटन गर्नुभएको हो।
केन्द्रीय कार्यालयको उद्घाटनसँगै लाजिम्पाटमा रहेको बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा स्थानान्तरण गरिएको बैंकले जनाएको छ।
२०६४ साल कात्तिक १८ गते स्याङ्जाको वालिङबाट वित्तीय कारोबार सुरु गरेको गरिमा विकास बैंकले २०६७ साल वैशाख १ गते केन्द्रीय कार्यालय कास्कीको महेन्द्रपुलमा स्थानान्तरण गरेको थियो। राष्ट्रियस्तरको विकास बैंकमा स्तरोन्नति भएपछि २०७३ साल चैत २७ गते केन्द्रीय कार्यालय पोखराबाट काठमाडौंको लाजिम्पाटमा सारिएको थियो।
नवनिर्मित केन्द्रीय कार्यालय उद्घाटनको अवसरमा कार्यालय परिसरमा निर्माण गरिएको मन्दिरमा शिव पाञ्चायन प्राण प्रतिष्ठासहित धार्मिक पूजाआजासमेत आयोजना गरिएको थियो।

उद्घाटन समारोहमा नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेल, धितोपत्र बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्ट, नियमनकारी निकायका पदाधिकारी, बैंकका सञ्चालक समिति सदस्य, पूर्व पदाधिकारी, उच्च व्यवस्थापनका अधिकारी, विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत, शेयरधनी, कर्मचारी तथा ग्राहकहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्यायले वालिङबाट सुरु भएको बैंकको यात्रा पोखरा हुँदै काठमाडौंसम्म आइपुगेको र आफ्नै स्वामित्वको भवनमा केन्द्रीय कार्यालय सञ्चालनमा आएसँगै बैंकको विकास यात्रामा नयाँ अध्याय थपिएको बताउनुभयो।
बैंकको व्यावसायिक यात्रामा ग्राहक, शेयरधनी, नियमनकारी निकाय, व्यावसायिक साझेदार तथा कर्मचारीहरूको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले संस्थागत सुशासनलाई समेत सफलताको आधारका रूपमा प्रस्तुत गर्नुभयो।
त्यस्तै, बैंकका अध्यक्ष दिलिप प्रताप खाँणले आगामी दिनमा ग्राहकलाई थप सहज, प्रभावकारी र गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले संस्थागत सुशासनसँगै प्रविधि, नवप्रवर्तन र दिगो विकासलाई प्राथमिकतामा राखेर बैंकलाई थप सशक्त बनाउँदै लैजाने बताउनुभयो।
हाल गरिमा विकास बैंकले देशभर १२६ शाखा कार्यालय र ५१ वटा एटीएममार्फत करिब १० लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ। बैंकले सरल, सुरक्षित र गुणस्तरीय बैंकिङ सेवाका लागि नवीनतम प्रविधिमा आधारित सुविधा उपलब्ध गराउँदै आएको पनि जनाएको छ।











प्रतिक्रिया