गुल्मीका पाँच झोलुङ्गे पुल: घण्टौँको पैदल यात्रा मिनेटमै

376
Shares

गुल्मी ।

गुल्मी जिल्लामा पछिल्ला वर्षहरूमा निर्माण भएका यी झोलुङ्गे पुलहरूले नदी तर्ने आवश्यकता पूरा गर्नुका साथै गाउँ–गाउँबीचको लामो पैदल दूरी छोट्याएर स्थानीयको दैनिक जीवनलाई सहज बनाएका छन् । विशेष गरी भौगोलिक रूपमा विकट क्षेत्रमा रहेका बस्तीलाई छोटो मार्गमार्फत जोड्ने उद्देश्यले निर्माण गरिएका पाँचवटा झोलुङ्गे पुलले घण्टौँ लाग्ने पैदल यात्रालाई केही मिनेटमै सीमित गरिदिएका छन् ।

यी पुलहरूले स्थानीयको आवतजावत, शिक्षा, स्वास्थ्य, व्यापार र सेवा पहुँचलाई सहज बनाउनुका साथै आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत महत्वपूर्ण योगदान पु¥याइरहेका छन् ।

रुरूको लामो पुल : डेढ घण्टाको बाटो १० मिनेटमा

गुल्मीको रुरू क्षेत्र गाउँपालिका–१ फलाँटे र वडा नम्बर–३ भड्कुवालाई जोड्ने ५२५ मिटर लामो झोलुङ्गे पुल सञ्चालनमा आएपछि वर्षौंदेखिको डेढ घण्टाको पैदल यात्रा करिब १० मिनेटमा सीमित भएको छ । नेपालकै दोस्रो लामो झोलुङ्गे पुलका रूपमा रहेको यस पुलले मुख्य सडक सञ्जालबाट टाढा रहेको भड्कुवा क्षेत्रलाई प्रत्यक्ष सडक पहुँचसँग जोडेको छ ।

पुल सञ्चालनमा आएपछि विद्यार्थी, ज्येष्ठ नागरिक र बिरामीलाई सबैभन्दा ठूलो राहत पुगेको छ । पहिले विद्यालय, स्वास्थ्य संस्था वा बजार पुग्न घण्टौँ हिँड्नुपर्ने बाध्यता थियो भने अहिले छोटो समयमा गन्तव्य पुग्न सकिने भएको छ ।

स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय, बुटवलमार्फत भीम–शिखर–हीरा कन्स्ट्रक्सन प्रालिसँग २०८२ असार १९ गते निर्माण सम्झौता गरिएको यस पुलको लागत अनुमान करिब ८ करोड ८५ लाख ३४ हजार रुपियाँ रहेको छ । हाल आयोजनाको करिब ९१ प्रतिशत निर्माण सम्पन्न भइसकेको छ र पुल सञ्चालनमा आइसकेको छ । रुरू क्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले सडक पहुँचसँग जोडिएपछि आर्थिक गतिविधि बढ्ने र समग्र जीवनस्तरमा सकारात्मक परिवर्तन आउने विश्वास गरेको बताए ।

मालिकाको पुल : दुई घण्टाको यात्रा केही मिनेटमै

केही समयअघि मात्रै मालिका गाउँपालिका–५ छापहिले लाकुरीदेखि वडा नम्बर–२ चुत्राबोट जोड्ने गरी जिल्लाकै सबैभन्दा लामो झोलुङ्गे पुल सञ्चालनमा रहेको छ । ३७५ मिटर लामो यो पुल नदी तर्नभन्दा पनि एउटा वडाबाट अर्को वडासम्म छोटो दूरीमा पुग्न निर्माण गरिएको हो ।
मालिका गाउँपालिका–६ का पूर्व वडाध्यक्ष शोभाखर गिरीका अनुसार पुल सञ्चालनमा आएपछि पहिले दुई घण्टा लाग्ने पैदल यात्रा केही मिनेटमै सीमित भएको छ । विशेष गरी गाउँपालिका–१, २ र ३ का स्थानीयलाई गाउँपालिका केन्द्र पुग्न निकै सहज भएको छ ।

वडा नम्बर–५ का नागरिकलाई दर्लिङ बजारमा किनमेल गर्न पनि छोटो समयमै पुग्न सकिने भएको छ । उनका अनुसार अग्लो स्थानमा निर्माण गरिएको यो पुल यातायातको सहजतासँगै पर्यटकीय आकर्षणका रूपमा पनि विकास हुने अपेक्षा गरिएको छ । करिब २ करोड ३ लाख ४० हजार रुपियाँ लागतमा निर्माण भएको थियो । सस्पेन्सन ब्रिज डिभिजन कार्यालय, काठमाडौंका अनुसार पुल निलगिरि निर्माण सेवा प्रालिले निर्माण गरेको हो ।

धुर्कोट–इस्मा पुल : विचित्र गुफाको यात्रा छोटियो

केही समयअघि धुर्कोट गाउँपालिका–५ वस्तु र इस्मा गाउँपालिका–६ लाई जोड्ने गरी छल्दीखोलामाथि ३७० मिटर लामो झोलुङ्गे पुल निर्माण गरिएको थियो । यो पुलले प्रसिद्ध पर्यटकीय गन्तव्य विचित्र गुफा पुग्ने दूरी उल्लेखनीय रूपमा घटाइदिएको छ । धुर्कोट परमानन्द बहुमुखी क्याम्पसमा अध्ययन गर्ने विद्यार्थी र विचित्र गुफा पुग्ने पर्यटकलाई सहज आवतजावत गराउने उद्देश्यले निर्माण गरिएको पुलले दुवै पालिकाका स्थानीयलाई प्रत्यक्ष लाभ पु¥याएको छ ।

नेपाल सरकार शहरी विकास मन्त्रालयको १ करोड ८९ लाख रुपियाँ लागतमा निर्माण भएको पुलमा एकैपटक ७९९ जना पदयात्री आवतजावत गर्न सक्ने क्षमता रहेको छ । पुल निलगिरि निर्माण सेवा प्रालिले निर्माण गरेको हो । धुर्कोट गाउँपालिकाले यस पुलले विचित्र गुफामा पर्यटक आगमन बढ्ने अपेक्षा गरेको छ ।

तम्घासको नमुना पुल : दुई मिनेटमै बजार

रेसुङ्गा नगरपालिका–२ उदिनढुंगा र वडा नम्बर–७ लसुनेडाँडा जोड्ने ३५७ मिटर लामो नमुना झोलुङ्गे पुल निर्माण भएपछि स्थानीयको दैनिक आवतजावत निकै सहज बनेको छ । पहिले लसुनेडाँडाबाट तम्घास बजार पुग्न २० मिनेटभन्दा बढी समय लाग्ने गरेकामा अहिले दुई मिनेटमै बजार पुग्न सकिने भएको छ । पुलले स्थानीयको आवतजावत सहज बनाउनुका साथै तम्घास आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि पनि आकर्षक गन्तव्य बनेको छ ।

नेपाल सरकार शहरी विकास मन्त्रालयअन्तर्गत सस्पेन्सन ब्रिज डिभिजनमार्फत करिब १ करोड ८४ लाख रुपियाँ लागतमा निर्माण भएको पुलको भारबहन क्षमता १०७ मेट्रिक टन रहेको छ भने एकैपटक ७७२ जना पदयात्री हिँड्न सक्ने क्षमता रहेको इन्जिनियर प्रवेश रेग्मीले जानकारी दिए । पुलको निर्माण निलगिरि निर्माण सेवा प्रालिले गरेको हो ।

भुजेलखर्क–विद्युतचोक पुल : बाटो छोटियो

रेसुङ्गा नगरपालिका–७ भुजेलखर्क र वडा नम्बर–९ विद्युतचोक जोड्ने ११८ मिटर लामो झोलुङ्गे पुल निर्माण भएपछि स्थानीयले घुमाउरो बाटो हिँड्नुपर्ने बाध्यताबाट मुक्ति पाएका छन् । स्थानीय भुने सुनारका अनुसार पहिले वारपार गर्न ३० मिनेटभन्दा बढी समय लाग्ने गरेकामा अहिले केही मिनेटमै गन्तव्य पुग्न सकिन्छ ।

पुल बनेपछि नगरपालिका कार्यालय, विद्यालय तथा बजारसम्म पुग्न सहज भएको छ । करिब ५० लाख ६६ हजार ७७ रुपियाँ लागतमा निर्माण भएको पुलमा झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमअन्तर्गत ९२ प्रतिशत, रेसुङ्गा नगरपालिकाको ६ प्रतिशत तथा उपभोक्ता समितिको २ प्रतिशत श्रमदानको योगदान रहेको छ । हेल्भेटास नेपालले पुलका लागि लट्ठा सहयोग गरेको थियो भने सामाजिक तथा प्राविधिक सहयोग सिर्जनशील सामुदायिक विकास केन्द्र गुल्मीले गरेको थियो ।

दूरी मात्र होइन, विकास र पर्यटनको सेतु

गुल्मीमा निर्माण भएका यी पाँच झोलुङ्गे पुल नदी तर्नका लागि भन्दा पनि गाउँ–गाउँबीचको पैदल दूरी छोट्याउने उद्देश्यले निर्माण गरिएका हुन् । पुल सञ्चालनमा आएपछि विद्यार्थी, किसान, कर्मचारी, ज्येष्ठ नागरिक तथा बिरामीलाई दैनिक आवतजावतमा ठूलो सहजता पुगेको छ ।

गाउँपालिका केन्द्र, बजार, विद्यालय, स्वास्थ्य संस्था र सरकारी सेवासम्मको पहुँच सहज बनेको छ भने स्थानीय आर्थिक गतिविधि पनि बढ्दै गएको छ । यसबाहेक अग्ला र आकर्षक संरचनाका कारण यी पुलहरू अहिले आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेका छन् ।

रुरू क्षेत्र, मालिका, धुर्कोट र तम्घासका झोलुङ्गे पुलमा दैनिक फोटो तथा भिडियो खिच्न पुग्ने आन्तरिक पर्यटकको संख्या बढ्दो छ । यसरी गुल्मीका यी झोलुङ्गे पुलहरूले भौगोलिक दूरी मात्र घटाएका छैनन्, स्थानीयको जीवनशैली परिवर्तन गर्दै विकास, पर्यटन र समृद्धिको नयाँ सम्भावना पनि सिर्जना गरिरहेका छन् ।