काठमाडौं ।
नेपाल एसबिआई बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा भारतीय स्टेट बैंक (एसबीआई) का प्रतिनिधि मुनीष कुमार चान्दना चयन भएका छन्।
बैंकको सञ्चालक समितिको गत साउन २७ गते बसेको ५४८औँ बैठकले चान्दनालाई सर्वसम्मत रूपमा सञ्चालक समितिको अध्यक्षमा चयन गरेको हो।
नवनियुक्त अध्यक्ष चान्दना एसबीआईको मुम्बईस्थित प्रधान कार्यालयको अन्तर्राष्ट्रिय बैंकिङ समूह–२ मा मुख्य महाप्रबन्धकका रूपमा कार्यरत छन्। उनले एसबीआईअन्तर्गत पूर्वी तथा दक्षिण एसिया, सिंगापुर तथा अस्ट्रेलियाको अन्तर्राष्ट्रिय बैंकिङ सञ्चालनका साथै विश्वभर रहेका प्रमुख विदेशी सहायक बैंकका लागि रणनीतिक नेतृत्व प्रदान गर्दै आएका छन्।
अध्यक्षमा चयन भएपछि चान्दनाले नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय, बालुवाटारमा आयोजित समारोहमा गभर्नर पौडेलले उनलाई शपथ गराएका हुन्।
शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित, कार्यकारी निर्देशकहरू रामु पौडेल र दीर्घबहादुर रावल, निर्देशक शरणकुमार अधिकारीलगायतको उपस्थिति थियो।
त्यस्तै, एसबीआई भारतका उपप्रबन्ध निर्देशक किशोरकुमार पोलुदासु, नेपाल एसबिआई बैंकका सञ्चालकहरू रितेश सिन्हा, भरत राज वस्ती र अप्सरा उप्रेती, प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारी, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्दलगायत बैंकका उच्च पदाधिकारीहरूको समेत कार्यक्रममा उपस्थिति रहेको थियो।
नेपाल एसबिआई बैंक भारतको भारतीय स्टेट बैंकसँगको सहकार्यमा सञ्चालन हुँदै आएको बैंक हो। बैंकले नेपालमा विभिन्न स्थानबाट बैंकिङ तथा वित्तीय सेवा प्रदान गर्दै आएको छ।











प्रतिक्रिया